स्विस सरकारको सहयोगमा ‘रोजगारीका लागि औद्योगिक प्रशिक्षण’ तालीम

Advertisement

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्राविधिक विश्वविद्यालयका रुपमा अगाडि बढेको मनमोहन पोलिटेक्निकले प्राविधिक शिक्षामा अब्बल हुने बताए ।

मनमोहन स्मृति पोलिटेक्निकमा शुरु भएको २४ महिने औद्योगिक प्रशिक्षण तालीमको बिहिबार उद्घाटन गर्दै उनले प्रदेश सरकारले प्रविधिक शिक्षाको विकासका लागि मनमोहनलाई प्राविधिक विश्वविद्यालयका रुपमा बजेटसमेत विनियोजन गरेको जानकारी दिए ।

मन्त्री घिमिरेले विभिन्न दातृ निकायबाट प्राविधिक शिक्षा एवम् तालीमका लागि सहयोग प्राप्त हुनाले आगामी दिनमा प्रदेश प्राविधिक तथा स्वरोजगारमूलक व्यावसायिक शिक्षामा उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा स्विस राजदूत एलिजाबेथ भन क्यापेलाले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनालाई पाइलट परियोजनाका रुपमा प्रदेशका १४ जिल्लाका सञ्चालनका लागि मुख्यमन्त्रीसँग छलफल गरी अघि बढाएको बताए ।

सिटिइभिटीका सदस्यसचिव पुष्परमण वाग्लेले पहिलो पटक मनमोहनबाट यस किसिमको तालीमको आयोजना गरिएको र यसबाट औद्योगिक क्षेत्रमा धेरै मानिसले रोजगार पाउने विश्वास व्यक्त गरे ।

‘‘सुनिश्चित रोजगारीका लागि औद्योगिक प्रशिक्षण’ नाराका साथ मोरङको बूढीगंगा गाउँपालिकास्थित मनमोहन स्मृति पोलिटेक्निकमा व्यावसायिक शिक्षा तथा तालीम परिषद् (सिटिइभिटी) तथा स्विस सरकारको सहयोगमा उक्त तालीम शुरु भएको हो ।

तालीममा २०÷२० जनाको समूहमा ४० जनाको सहभागिता रहेको तालीम प्रमुख इन्जिनियर सुदीप अधिकारीले जानकारी दिए ।

नेपालमै पहिलो पटक नमूना परियोजनाका रुपमा मनमोहन स्मृति पोलिटेक्निकमा शुरु भएको पोलिटेक्निकका प्रिन्सिपल सुवासश्री पोखरेलले बताए ।

मनमोहन स्मृति पोलिटेक्निकमा उत्पादित एक हजार विद्यार्थीमध्ये सात सय ७६ जनाले रोजगारी पाइसकेको र केही उच्च शिक्षा अध्ययन गरिरहेको उनले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement