अर्थमन्त्रीलाई अर्को झड्का, बढाइएको कर समायोजन हुनेगरी इन्टरनेटको मूल्य वृद्धि फिर्ता

Advertisement

काठमाडौं । सेयर बजारमा पुँजीगत लाभकर वृद्धिसँगै लगानीकर्ता आन्दोलित भएपछि कर वृद्धिको निर्णय फिर्ता गर्न बाध्य भएका अर्थमन्त्री युवराज खतिवडालाई अर्को झड्का लागेको छ । इन्टरनेटमा बढाइएको करको चर्को आलोचना भएपछि त्यसलाई समायोजन हुनेगरी मूल्य बढन नदिन सरकार सहमत भएको छ ।

आर्थिक क्षेत्रका जानकारको रुपमा अर्थमन्त्री नियुक्त भएका खतिवडाको भिजनअनुसार विभिन्न क्षेत्रमा बढाइएको करका कारण थुप्रै समस्याहरु खडा भएपछि प्रधानमन्त्री केपी ओली उनको विकल्प खोज्ने अवस्थामा पुगेका समाचारहरुसमेत आइरहेका छन् ।

ग्रामीण क्षेत्रसम्म सर्वसुलव इन्टरनेट सेवा पुर्याउने सरकारको दीर्घकालिन नीतिविपरित यस बर्ष बजेटमार्फत कर थपिएसँगै इन्टरनेट सेवा महंगो हुन पुगेको थियो । मूल्यवृद्धिसँगै उक्त समस्याबारे अध्ययन गर्न सरकारले गठन गरेको अध्ययन समितिले साउन १ गतेखि इन्टरनेटमा बढाइएको मूल्य फिर्ता गर्ने निर्णय गरेको छ ।

समितिले सेवा प्रदायकहरुको ब्यण्डविथ लगायतका लागत र सरकारको योगदानलाइ थप अध्ययन गरी उपभोक्ता मूल्यबृद्धि नहुने गरी मुल्य समायोजन गर्ने र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले मूल्य वृद्धि फिर्ता लिने निर्णय गरेको छ ।

जसअनुसार मूल्य बढन नदिन सरकारले कति कर घटाउनुपर्ने हो ? त्यो घटाउने र व्यवसायीले पनि मूल्य बढन नदिन आफूले सक्नेसम्म योगदान दिने सहमतिको आशय छ । दुई बर्षअघि नै कर बढाउँदा पनि विरोध गर्दै आएका इन्टरनेट सेवा प्रदायकहरुले अहिले बढाइएको करको ठूलो भार आफूहरुले बहन गर्न नसक्ने भएकाले सरकारले कर घटाउनै पर्ने बताउँदै आएका छन् ।

सुचना तथा सञ्चार प्रविधि मन्त्रालएका सहसचिव वीरेन्द्रकुमार मिश्रको संयोजकत्वमा गठित समितिमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको तर्फबाट पनि सहभागिता थियो ।

बिहीबार बसेको समितिको बैठकमा इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको योजनाअनुसार मूल्य समायोजन गर्ने सहमति भएको  सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले जानकारी दिए ।

सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले १५ प्रतिशतसम्म मूल्य बढाएका थिए ।

समितिको आजको बैठकले अब असार मसान्तसम्म भएको बिलिङमा एक रुपियाँ पनि थप नगर्ने गरी सहमति गरेको छ ।  सेवाको मूल्य पहिलेकै अवस्था अनुसार नै भएको ढकालले बताए।

Advertisement

Advertisement

Advertisement