बाढीका कारण म्यानमारका हजारौं विस्थापित, बाँध भत्किँदा लाओसमा सयौं बेपत्ता

Advertisement

एजेन्सीहरु । म्यानमारमा आएको बाढीका कारण हजारौं विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । बाढी प्रभावितहरूलाई स्वयमसेवक तथा उद्धारकर्ताहरूले राहत तथा सहयोग उपलब्ध गराएका छन् ।

अत्यधिक बर्षापछि आएको बाढीले कारेन र मोन प्रदेश तथा बागो क्षेत्र डुवानमा परेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । “हपा अनका झण्डै छ हजार जना विस्थापित भएका छन् भने म्यावाडीबाट झण्डै चार हजार जना विस्थापित भएका छन्,” कारेन प्रदेशका प्रहरी प्रमुख कि लिनले एएफपीलाई बताए ।

थाइल्याण्डसँगको सिमा क्षेत्रमा पर्ने अरु ठाउँहरूमा पनि बाढीको प्रभाव परेको समाचारमा जनाइएको छ । म्यानमारको समाजकल्याण मन्त्रालयले झण्डै १६ हजार जना विस्थापित भएको जनाएको छ । करेना प्रदेशको आठ ठाउँका बासिन्दा बढी प्रभावित भएको प्रहरी अधिकारीहरूको भनाई छ । मोन प्रदेश र बागो क्षेत्रका के कति जना प्रभावित भएका छन् भन्ने बारेमा भने अहिले सम्म एकिन नभएको बताइएको छ ।

त्यस्तै, सिन्ह्वा समाचार समितिका अनुसार लाओसमा बाँध भत्किएर बगाएका मध्ये छ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अहिलेसम्म पनि १२५ जनाको अवस्थाका बारेमा केही थाहा हुन सकेको छैन ।

बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको र अरु कतिपयलाई उद्धार गरी अस्थायी शिविरमा व्यवस्थापन गरिएको जनाइएको छ । देशको दक्षिणी क्षेत्रमा रहेको जलविद्युत परियोजनाको बाँध भत्किएर बगाएका वा बेपत्ता भएका मध्ये अधिकांशको मृत्यु भएको हुन सक्ने स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

निर्माणाधिन अवस्थामा रहेको छेपिन छे नाम नोय जलविद्युत परियोजनाको बाँध यसै हप्ताको सुरुमा भत्किएको थियो । कम्बोडियाको सिमा क्षेत्रमा पर्ने लाओसको दक्षिणी क्षेत्रमा रहेको बाँध सोमबार बेलुका भत्किएको थियो ।

बाँध भत्किएपछि सानाम्याक्सी जिल्लाका सात गाँउ प्रभावित भएको र सयौं विस्थापित भएको अधिकारीहरूले बताएका छन् । लाओसका प्रधानमन्त्री थोङलोन सिसौलिथले विस्थापित भएकाहरूलाई छाना सहितको वास स्थानमा व्यवस्थापनको काम भइरहेको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement