संचय कोषले एक अर्बको शेयर किन्दा नेपाल बैंकको एफपीओ ५४ प्रतिशत बिक्री

Advertisement

काठमाडौं। नेपाल बैंकको थप सार्वजनिक निष्काशन (एफपीओ)मा कर्मचारी संचय कोष एक्लैले एक अर्बको शेयर किन्दा जम्मा ५४ प्रतिशत बिक्री भएको छ ।

पछिल्लो समयमा बैंक वित्तीय संस्थामा लगानी बढाएको कर्मचारी सञ्चय कोषले कूल निष्काशनको २५ प्रतिशत शेयर खरिद गर्न पाउने प्रावधानअनुसार एक अर्ब रुपियाँको शेयर खरिद गरेको हो ।

कोषसहित ९६ लाख १८ हजार कित्ताको लागि दुई अर्ब ६९ करोड रुपियाँको आवेदन परेको लगानी व्यवस्थापक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुवकुमार तिमल्सिनाले बताए ।

शुक्रबार बेलुकीसम्ममा जम्मा ११ प्रतिशत मात्रै आवेदन परेकोमा आइतबार अन्तिम दिन ५४ प्रतिशतको आवेदन परेको जनाइएको छ । शुक्रबारसम्ममा २४ लाख २१ हजार कित्ताको लागि मात्रै आवेदन परेको थियो ।

बैंकको एफपीओको लागि चार अर्ब ९५ करोड रुपियाँ आवश्यक रहेकोमा अझै दुर्इ अर्ब २६ करोड रुपियाँ अपुग रहेको छ । बिक्री नभएको सेयर अब सेयर निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मा लिएका आठ वटा कम्पनीहरुले सम्झौताअनुसारको प्रतिशतमा खरिद गर्नुपर्नेछ ।

नबिकेको शेयर बैंकको संस्थापक र संचालकका लागि पुनः बिक्री खुला गर्न सकिने प्रावधान रहेको छ । यदि अनौपचारिक रुपमा संस्थापक र संचालकले खरिद नगर्ने जानकारी गराए मात्रै प्रत्याभूतकर्ता (अण्डरराइटर)ले खरिद गर्नुपर्नेछ । नेपाल बैंकको संस्थापक सरकार आफै हो । सरकार नेपाल बैंकमा थप लगानी गर्ने मनस्थितिमा देखिँदैन ।

नेपाल बैंकले गत असार १५ गतेदेखि २८० रुपियाँमा एफपीओ निष्काशन गरेकोमा पहिलो चरणमा तीन प्रतिशत मात्रै बिक्री भएको थियो । दोस्रो चरणमा आइतबारसम्म ४३ प्रतिशत भन्दा धेरैको आवेदन परेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले गत वर्षको नाफा तथा जगेडा कोषबाट ३० प्रतिशतसम्म लाभांश दिन सकिने बताउँदै बैंकको वित्तीय अवस्थामा निकै राम्रो भएको भन्दा भन्दै प्रतिकुल समयका कारण नेपाल बैंकको एफपीओमा आवेदन नपरेको हो ।

एफपीओ निष्काशन गरेसँगै संस्थापक शेयरधनी नेपाल सरकारको ५१ प्रतिशत अर्थात पाँच अर्ब रुपियाँ र सर्वसधारणको ४९ प्रतिशत अर्थात चार अर्ब ८० करोड रुपियाँ गरि बैंकको सेयर नौ अर्ब ८१ करोड रुपिया पुग्नेछ । विगत तीन वर्षको नेटवर्थमा औषत प्रतिफल २७.६ प्रतिशत रहेको छ । बैंकको क्रेडिट रेटिङ ग्रेड ३ प्लस रहेको छ ।

Advertisement

Advertisement

Advertisement