घरबहाल कर घटाउन र दुई वर्षमा घरधनीले पाँच प्रतिशत मात्रै बहाल बढाउने व्यवस्था गर्न माग

Advertisement

काठमाडौं । घरबहाल सरोकार महासंघ नेपालले मुलुकी ऐन देवानी संहिता २०७४ लाई उचितरुपमा कार्यान्वयन गर्नुपर्नेसँगै केही छुटेका कुराहरुको संशोधन गर्न सरकारसमक्ष माग गरेको छ । सोमबार महासंघले पत्रकार सम्मेलन गरेर यस्तो आग्रह गरेको छ ।

महासंघका अध्यक्ष शंकर कोइरालाले हालै राष्ट्रपतिद्धारा प्रमाणिकरण गरिएको मुलुकी ऐन देवानी ‘संहिता’–२०७४ लाई स्वागत गर्दै घर बहाल कर घटाउन माग गरे । उनले भने, ‘राज्यले निर्माण गरेको ऐनलाई हामीले स्वागत गरेका छौं । तर केही कुराहरु छु्टेका छन् हामीले सुझावको रुपमा सरकारलाई केही मागहरु अघि सारेका छौं । जस्तै २० हजारभन्दा कम बहाल लिईनेलाई पनि सम्झौतापत्र दिनुपर्ने । घर बहाल करको दर घटाउनु पर्नेछ । त्यसमा सरकारले ध्यान दिनु जरुरी छ ।’

उनले थपे, ‘बसोबास, व्यवसाय र उद्योग गरि तीन प्रकारका घरबहाल क्षेत्र छन् । यसमा हामीले स्पष्ट धारणा अघि सारेका छौं । बसोबासका लागि पाँच वर्ष, व्यवसायको लागि १७ वर्ष र उद्योगको लागि २५ वर्षभित्र नवीकरण हुनेगरि घरधनीले सम्झौतापत्र दिनुपर्ने र घर धनीलाई व्यवसायीकरण गरि दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर लिनुपर्ने हाम्रो माग छ । सरकारले यसमा तत्काल ध्यान दिनुपर्छ ।’

घरधनी र व्यवसायीहरुले आ–आफ्नो बिमा गर्नुपर्ने भन्दै अध्यक्ष कोइरालाले घर बहाल क्षेत्रबाट हटाउँदा निश्चित समय तोक्नुपर्छ भन्ने आफूहरुको अर्को महत्वपूर्ण माग रहेको सुनाए । उनले भने, ‘जसमा उद्योगतर्फ पाँच वर्ष पहिले, व्यवसायिक तर्फ तीन वर्ष र बसोबास क्षेत्रमा छ महिना अग्रिम सूचना दिएरमात्रै हटाउने पाउने प्रावधान ल्याउनुपर्छ । दुई वर्षमा घरधनीले पाँच प्रतिशत बहाल बढाउनुपर्छ र बहाल क्षेत्रको नाममा अग्रिम पैसा लिन नपाइने ऐन आउनुपर्छ । हामीले यसका बारेमा समयमै सम्झाएका छन् ।’

Advertisement

Advertisement

Advertisement