जोशीको टुँगो सकेसम्म सर्वसम्मतिमा नभए निर्वाचनबाटः कर्ण

Advertisement

काठमाडौंः संसदीय सुनुवाई विशेष समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे बुधबार समितिले सर्वसम्मतीले निर्णय गर्ने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै राष्ट्रिय जनता पार्टीका नेतासमेत रहेका समितिका संयोजक कर्णले भने, ‘प्रस्तावित प्रधानन्यायाधीशको नाम सर्वसम्मतीमा नै टुँगो लगाउने भनेर हामीले समितिको बैठकको लागि समय सारेका हौं । भोलि बस्ने बैठकले सर्वसम्मतीले निर्णय गर्छ । हामीले उहाँमाथि कुनै अभियोग लगाएका छैनौं । अभियोग पत्र पनि पठाएका छैनौं । तर उहाँप्रति जनताको के धारणा छ भन्ने कुरा त हामीले सुन्नुपर्यो नि । उहाँलाई अभियोग लगाउने हाम्रो हैसियत छैन । यो समितिले संविधानसम्मत् निर्णय गर्छ ।’

कर्णले आफूहरुले प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई बडो आदरपूर्वक, सम्मानित र मर्यादित प्रश्न मात्रै सोधेको सुनाए । उनले थपे, ‘हामीले उहाँलाई मर्यादित रुपमा सैद्धान्तिक प्रश्न सोधेका छौं । उहाँ अहिलेपनि कायम मुकायम प्रधानन्यायाधीश हुनुहुन्छ । पत्रपत्रिकाले उहाँको शैक्षिक प्रमाणपत्रबारे प्रश्न गरेपछि उहाँले समितिमा सर्टिफिकेट पनि पेश गर्नुभयो । पेश भएको प्रमाणपत्र त हामीले पाउनुपर्छ ।’

समितिमा रहेका सदस्यहरुको आ–आफ्नै राजनीतिक आस्था र विचार भएपनि आफूहरुले सर्वसम्मतीमै निर्णय गर्ने कोशिस गरिरहेको कर्णले बताए । उनले थपे, ‘यदि सहमतिमा निर्णय हुन सकेन भने हामी प्रक्रियामा प्रवेश गरि निर्णय लिन्छौं ।’

बाहिर आरोप लगाइएजस्तो संसदीय सुुनुवाई प्रक्रियामा आफूहरुले कुनै किसिमको ढिलाई नगरेको कर्णको दावी छ । उनले भने, ‘४५ दिनको म्याद गुज्रिएको छैन । हामीले म्याद नघाएका छैनौं । दुई दिनमै कार्यविधि बनाए काम सुरु गरेका हौं ।’

समितिको निर्णय कुर्न धैर्यता गर्नुपर्ने बताउँदै उनले भोलि गरिने निर्णय सहमतिमै हुने भएकोले उक्त निर्णय सबैले मान्नुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement