उत्कृष्ट फोटोहरुको प्रर्दशनी सुरु, पर्यटनमन्त्री भन्छन– भारतबाट आउने सबै पर्यटक झोले होइनन्

Advertisement

काठमाडौं । फोटो पत्रकार क्लब (पिजे क्लब)द्वारा आयोजित आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी काठमाडौंैको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ ।

फोटो प्रर्दशनीकोसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे । प्रदर्शनी १६ गते बुधबारबाट २१ गते सोमबारसम्म चल्नेछ । प्रदर्शनीमा एक्सपेरियन्स नेपाल कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम एक्सन स्पोर्टस र नेप्टोसफोटो स्टोरी गरि सात विधाका उकृष्ट १६० फोटोहरु रहेका छन् ।

कार्यक्रममा मन्त्री अधिकारीले सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहने बताए । उनले भने, ‘नेपाल पर्यटकीय देश हो । यहाँका मठमन्दिर, मस्जिद, सम्पदा, प्राकृतिक सुन्दरताको पहिचान गरेर फोटोमार्फत विश्वमा प्रचारप्रसार गर्न सकिनेछ ।’

अधिकारीले फोटो पत्रकारलाई अहिले विकास भइरहेको प्रविधि र सोसल मिडियाले चुनौती बढाएको उल्लेख गर्दै फोटोपत्रकारले आफूलाई पनि उत्कृष्ट सावित गर्दै राम्रा फोटो खिच्न सुझाव दिए । उनले भिजट नेपाल २०२० लाई सफल बनाउन र नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विमानस्थल निर्माणदेखि होटलहरुको निर्माण भइरहेको भन्दै गौतमबुद्ध विमानस्थल अबको एक बर्षमा नभई नौ दश महिनामै सञ्चालनमा आउने बताए ।

अधिकारीले सडक तथा हवाई यातायातको विस्तार र होटलहरुको निर्माणले गर्दा पर्यटक आगमनमा वृद्धि हुने र भिजिट नेपालको लक्ष्य पूरा हुने भन्दै भारतीय पर्यटकहरु झोले मात्रै नभई स्तरीय पर्यटकहरु पनि स्थलमार्गबाट पनि आउने भएकाले उनीहरुलाई गणना गर्नुपर्ने बताए । अहिले नै भारतीय पयटकहरुलाई गणना गर्दा २२ लाख पर्यटकहरु नेपाल आउने गरेको उनको दावी छ ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालमा पर्यटकीय गन्तव्य धेरै भएकोले फोटो पत्रकारहरुले फोटोमार्फत पर्यटन प्रबद्र्धन गर्न आग्रह गरे । उनले पिजे क्लवसँगको सहकार्यलाई निरन्तरता दिइने बताए ।

सो अवसरमा फोटो अफ दि इयर विजेता नरेन्द्र श्रेष्ठले ७० हजार रुपियाँ फुदन सदालाई हस्तान्तरण गरे । फुदन सदा नरेन्द्र श्रेष्ठले खिचेको तस्बिरमा देखिएका मृतक कमल सदाका बुबा हुन् । सदाले आफू पाएको रकमले ४ कट्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement