संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई हटाएर छाड्ने सरकारी तयारी, छानविन गर्दै भन्दै समिति बनाइयो

Advertisement

काठमाडौं । केही दिनअघि विदेश जान लागेका बेला विमानस्थलबाट बालुवाटार पुर्याइएका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालालाई हटाएर छाड्ने सरकारले तयारी गरेको छ ।

कोइरालालाई स्वीकृति नलिई विदेश जान लागेको र आर्थिक अनियमितता गरेकोले छानबिन गर्न भन्दै चार सदस्यीय समिति बनाइएको छ । उपकुलपति कोइरालाको विश्व संस्कृत सम्मेलनमा सहभागीता जनाउने प्रक्रियामा भए गरेका विषय र विश्वविद्यालयसम्बन्धी परेका विभिन्न उजुरी तथा गुनासाको सम्बन्धमा आवश्यक छानबिन गरी प्रतिवेदन पेश गर्न भन्दै डा राममान श्रेष्ठको संयोजकत्वमा बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति बनाएको हो ।

समितिमा लक्ष्मीप्रसाद मैनाली, नेपाल ल क्याम्पस, विकास अधिकारी, विश्वविद्यालय अनुदान आयोग र देवकुमारी गुरागाईं, सहसचिवसदस्य रहेको सो मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले जानकारी दिए ।

गत असार २३ गते १७औँ विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा कोइरालालाई प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विमानस्थल पुगेपछि रोक्दै सुरक्षाकर्मी लगाएर प्रधानमन्त्री निवास बालुवाटार पुर्याएका थिए ।

विमानस्थलबाट फकाई प्रधानमन्त्री ओलीलाई भेट्न भनी कुराइए पनि भेट नगराइएको र आफूले बिदाका लागि निवेदन दिए पनि समयमा निर्णय नदिएको कोइरालाको गुनासो छ ।

यसैबीच कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनको कार्यकारी परिषद्को निर्णयबाट विभिन्न क्याम्पसलाई प्रदान गरिएको सम्बन्धनका नेपाल सरकार, मन्त्रिपरिषद्को मिति यही साउन १४ को निर्णयबाट स्थगन गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सबै विश्वविद्यालयलाई निर्देशन दिन स्वीकृति प्रदान गर्ने तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले गत असार २० मा प्रदान गरेका सबै अस्थायी सम्बन्धनको स्वीकृति रद्द गरिएको छ ।

Advertisement

Advertisement

Advertisement