नेपाल टेलिकमको एफटीटीएच सेवामा भ्वाइस सेवा थपियो

Advertisement

नेपाल टेलिकमको एफटीटीएच सेवामा भ्वाइस सेवा थपियो

काठमाडौं । नेपाल टेलिकमले वितरण गरिरहेको एफटीटीएच सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा पनि प्रदान गर्न शुरु गरेको छ ।

सेवाको आरम्भको अवसरमा २०७५ साउन १० गतेदेखि ३ महिनाको लागि प्रमोसनल अफरको रुपमा कम्पनीको नेटवर्क भित्र भ्वाइस सेवा निःशुल्क गरिएको छ । अब आईपी प्रविधि अन्तर्गतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथसाथै सोही फाइबरबाट भ्वाइस सेवा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसका लागि ग्राहक वर्गलाई नयाँ नम्बर प्रदान गरिने छ । हाल यो भ्वाइस सेवा एफटीटीएच सेवा वितरण भइरहेका स्थानहरुमा डाटाका साथ उपलब्ध गराइएको छ । बाँकी स्थानहरुमा पनि एफटीटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने छ ।

हाल काठमाडौं उपत्यकाको कीर्तिपुर, सैंबु, गोंगबु, गोठाटार, दरबार मार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यका वाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगन्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ ।

नेपाल टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजना अनुरुप फाइबरबाट उच्च गतिको एफटीटीएच सेवा वितरण गरिरहेको छ । साथसाथै कम्पनीले एफटीटीएच सेवा वृहत रुपमा विस्तारको लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ ।

परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकहरुको घरसम्म अप्टिकल फाइबर पुर्याई एकैसाथ भ्वाइस, इन्टरनेट र भिडीयो सेवाहरु प्रदान गर्न सकिने भएकोले यो सेवा प्रभावकारी हुने कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहक माझ सस्तो तथा सुलभ दरमा एफटीटीएच सेवा उपलब्ध गराउनका लागि हाल मनसुन अफर अन्तर्गत विभिन्न प्याकेजको रुपमा सहुलियतपूर्ण महसुलमा सेवा उपलब्ध गराइएको छ । ब्यक्तिगत र कर्पोरेट ग्राहकका लागि फरक फरक महसुल दर निर्धारण गरिएको कम्पनीले जानकारी गराएको छ ।

Advertisement

Advertisement

Advertisement