उपकुलपतिलाई एयरपार्टबाटै फिर्ता गर्ने ओलीले विनाअनुमति विदेश जाने विद्यासुन्दरलाई रोकेनन्

bidhya_kul_prasad_kp_oli

काठमाडौं । संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालालाई विदेश उडन लागेको बेला सुरक्षाकर्मी लगाएर बालुवाटार पुर्याएका प्रधानमन्त्री केपी ओलीले विनाअनुमति विदेश हिँडेका काठमाडौं र ललितपुर महानगरपालिकाका मेयरद्धय विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जनलाई भने रोकेनन् ।

स्थानीय तहका जनप्रतिनिधि शाक्य र महर्जन संघीय सरकारका कुनै पनि निकायकालाई थाहै नदिई विदेशभ्रमणमा निस्कने हुन । काँग्रेसनिकट भएकाले कोइरालालाई विदेश जान नदिएर राजीनामा गर्न दबाब दिएका ओलीले विना अनुमति विदेश हिँडेका आफ्नो पार्टीका शाक्यलाई भने रोक्ने वा कारवाही गर्ने आँट देखाएका छन् ।

शाक्य जानेभएपछि महर्जनलाई पनि विदेश जान दिइएको छ । महर्जन काँग्रेसका नेता हुन । संघीय मामिला मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई अनिवार्य भ्रमण गर्नुपूर्व सहमति लिन गत चैत २१ गते सर्कुलर गरेको थियो । प्रधानमन्त्री ओली आफैले पनि सुशासन
र भ्रष्टाचारमा सम्झौता नगर्ने भन्दै त्यस्ता कुरामा आफूले अनुहार नहेर्ने बताउँदै आएका छन् ।

नयाँ सर्कुलरपछि जम्मा ५० पदाधिकारीले मात्र मन्त्रालयसँग भ्रमणको पूर्वस्वीकृति लिएका छन् भने स्वीकृति नलिई जानेको संख्या त्योभन्दा बढि रहेको मन्त्रालयले जनाएको छ । स्वीकृति नलिई जानेमा शाक्य र महर्जन पनि थपिएका छन् । महर्जन यसअघि पनि पटक पटक विदेश गएका छन् ।