एप्पल पहिलो ट्रिलियन डलर कम्पनी

Advertisement

काठमाडौं । नेपाली समय अनुसार बिहिबार रातिको नौ बजेतिर प्रतिसेयर मूल्य दुई सय सात डलर पाँच सेन्ट पुगेपछि आइफोन तथा म्यकबुक निर्माता एप्पल इन्कर्पोरेसन अमेरिकाको पहिलो ट्रिलियन डलर कम्पनी बन्न पुगेको छ । प्रतिसेयर मूल्य बढेपछि एप्पलले दस खर्ब डलर माथिको पहिलो कम्पनीका रुपमा प्रतिस्पर्धिलाई उछिन्दै नाम दर्ता गराएको हो ।

बजार सुरु हुँदा केहि घटेको सेयर मूल्य बन्द हुँदासम्म दुई दशमलव ९० प्रतिशतले वृद्धि भई दुई सय सात डलर भन्दा केहि माथि पुगेको हो । सेयरको यो मूल्यसँगै एप्पल ट्रिलियन डलर पुग्ने पहिलो अमेरिकी पक्लिक कम्पनी बनेको हो ।

प्रविधिसँग सम्बन्धित सिनेट डट कमका अनुसार एप्पलको बजार मूल्य १५ वटा प्रमुख धनि देशबाहेकका देशको कुल गार्हस्थ उत्पादनको भन्दा बढि हो । सिनेटले सन् २०१७ को सिआईए फ्याक्ट बुकको तथ्यांकको आधारमा एप्पलको सेयर मूल्यालाई विभिन्न देशको जीडीपीसँग तुलना गरेको हो । बिहिबारको सफलतासँगै एप्पल १३ अंक डलरको दोस्रो कम्पनी बनेको छ । यसअघि सन् २००७ मा चीनको पेट्राचाइना छोटो समयमै ट्रियिन डलर कम्पनी बनेको थियो ।

त्यसो त एप्पलका लागि पछिल्लो केहि वर्ष सुखद नै छन् । कम्पनीले उत्पादन गर्ने आईफोन विश्वकै सबैभन्दा धेरै उत्पादन हुने डिभाइस बनेको छ । यति मात्र हैन एप्पलले आफ्नो चौथो त्रैमासिकसम्मका लागि निर्धारण गरेको आम्दानी लक्ष्य हेर्दा फोनको बिक्री झन् बढ्नेमा आशावादी रहेको देखिन्छ । कम्पनी यही समय लगाउन मिल्ने डिभाइस लिएर बजारमा आउने रणनीतिमा पनि काम गर्दैछ । त्यस्तै एप्पल म्युजिक स्टोरजस्ता सफ्टवेयरमा पनि परिवर्तन गर्दै आम्दानी बढाउनेतर्फ एप्पलले काम गर्दैछ । यसै सेप्टेम्बरमा पनि एप्पल तीन वटा नयाँ आइफोन मोडलसहित बजारमा उपस्थित हुँदैछ ।

विश्लेषकहरु भने एप्पलको बजार विस्ता रणनीतिअनुसार वर्तमान मूल्यभन्दा धेरै माथि कम्पनीको सेयर पुग्ने बताइरहेका छन् । खासगरी आईफोनमा नेपालीहरुको विशेष मोह रहेको छ ।

एप्पल कम्प्युटर कम्पनीका रुपमा सन् १९७६ मा स्थापना भएको कम्पनी हो । ४२ वर्षअघि स्टिभ जब्स, स्टिभ वोज्निएक र रोनाल्ड वायनले यसको स्थापना गरेका थिए । एप्पलको सफलताको जस संस्थापक जब्सलाईनै जाने गर्छ । सन् १९९० मा बैंकको ऋणसँग नराम्रोसँग फसेको कम्पनीलाई उपयुक्त नेतृत्व दिएर यहाँसम्म ल्याउन जब्सको योगदान महत्वपूर्ण मानिन्छ । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा केन्द्रीय कार्यालाय रहेको एप्पलको देशभर पाँच सयभन्दा बढि प्रमुख स्टोर छन् ।

एप्पलले एक दर्जन हार्डवेयर डिभाइस र आधा दर्जन सफ्टवेयर निर्माण र बिक्री गर्दै आएको छ । सन् २०१७ मा कम्पनीले दुई सय २९ अर्ब डलर आम्दानी गरेकोमा ४८ अर्ब डलर खुद नाफा आर्जन गरेको थियो ।

स्रोतः गोरखापत्र दैनिक

Advertisement

Advertisement

Advertisement