काठमाडौं । नेपालले वैदेशिक रोजगारीका लागि मलेसिया पठाउनका रोक लगाएपछि मलेसिया सरकारले चासो बढाएको छ । मलेसिया सरकारको पहलमा नेपालले छलफलका लागि त्यहाँका मानव संसाधनमन्त्री एम कुलासेखरनलाई निम्तो पठाएको छ ।
नेपालले मलेसिया जाने कामदारमाथि रोक लगाएपछि त्यहाँका मानव संसाधनमन्त्री कुलासेखरानले छलफलको लागि तयार रहेको बताएका थिए । उनले छलफलमा खुल्ला रहेको र मलेसिया सरकार सरकारी स्तरबाटै कामदार लैजान तयार रहेको भन्दै जी टू जीको प्रस्ताव गरेका थिए ।
विदेशि कामदारलाई मलेसिया लैजान मलेसियाको अघिल्लो सरकारले लागु गरेको एकद्वार प्रणालीले विदेशि कामदारबाट अर्बैं लुटिएको भन्दै नेपालले मलेसिया कामदार पठाउन रोक लगाएको थियो ।
मलेसिया सरकारसँग मिलेर खोलिएको भीएलएन, जीएससी, वान स्टप सेन्टर जस्ता संस्थले पाँच वर्षमा नेपालीबाट अर्बैँ लुटिएको समाचार आएपछि नेपालले कामदार पठाउन रोक लगाएको हो ।
मलेसियाले नेपालसमक्ष द्विपक्षीय श्रम सम्झौता राखेको छ । यसअघि मलेसियाका मानव संसाधनमन्त्री कुलसेखरनले प्रतिवन्धबारे नेपाललाई पुनर्विचार गर्न आग्रक गरेका थिए । उनले समस्या समाधानका लागि मलेसिया सरकारले ठोस योजना ल्याउने बताएका छन् ।
उनको नेपाल भ्रमणको क्रममा द्विपक्षीय श्रम सम्झौता हुने बताइएको छ ।