उदारीकरणका नाममा शिक्षालाई व्यापारीकरण गर्दा मौलिक अधिकार हनन्

Advertisement

सिन्धुली । नेकपा (नेकपा)का नेता सांसद हरिवोल गजुरेलले निजीकरण र उदारीकरणका नाममा नेपालमा शिक्षाजस्तो मौलिक हकलाई व्यापारीकरण गरिएको बताएका छन् र

उनले पँुजीवादी देशमा समेत शिक्षा निःशुल्क रहेको चर्चा गर्दै नेपालजस्तो विकासोन्मुख देशमा गुणस्तरीय शिक्षालाई जनताको पहुँचमा ल्याउन आवश्यक भएको बताए ।

रुपान्तरणका लागि नागरिक अभियान सिन्धुली (सिप्mट)ले सिन्धुलीमाढीमा आइतबार आयोजना गरेको कार्यक्रममा गजुरेलले भने– “युवा श्रमको संवाहक हो, तर नेपालमा श्रमलाई सम्मान गरिन्न । त्यसैले युवा रोजगारीका लागि विदेश पलायन भएका छन् ।”

उच्चस्तरीय शिक्षा आयोगका सदस्य श्याम श्रेष्ठले नेपालको संविधानले समाजवाद उन्मुख बाटो समातेकाले अबको नेपाली शिक्षा समतामुलक र समावेशी हुन आवश्यक रहेको बताए ।

उनले भने– “वर्गअनुसारको शिक्षा होइन, सबै वर्गलाई एकैखालको शिक्षा, जसमा व्यवहार उपयोगी शिक्षा समावेश गरिएको हुन्छ, त्यस्तो समाजवादी शिक्षा आवश्यक छ ।” समाजवादी शिक्षाबारे चर्चा गर्दै श्रेष्ठले भने– “समाजवादी समाज श्रमिकहरुको हो त्यसैले यो शिक्षाको उद्देश्य श्रमप्रेमी समाजको निमार्ण गर्नु हो । श्रमप्रेमी, समुदायमुखी जागृत मानिस उत्पादन गर्नु मुख्य त यो शिक्षाको मान्यता हो ।”

उनले भने– “समाजवादी शिक्षा लागु भएपछि माध्यमिक तह सम्मको शिक्षा अनिवार्य र निःशुल्क हुनेछ । उच्च शिक्षामा गरिव दलित तथा पिछडिएको वर्गका लागि निःशुल्क, सामान्य परिवारका लागि न्यून शुल्क र संभ्रान्त परिवारका लागि महङ्गो शिक्षाको व्यवस्था गरिने छ ।”

श्रेष्ठले क्युवा, स्वीडेन, डेनमार्क, स्वजरल्याण्डलगायत देशमा सम्पूर्ण शिक्षा निःशुल्क रहेको चर्चा गर्दै नेपालमा पनि निःशुल्क र अनिवार्य शिक्षा संभव भएको बताए ।

रुपान्तरणका लागि नागरिक अभियान सिन्धुली (सिप्mट)का संयोजक एकलाल श्रेष्ठले रोजगारीमुलक, व्यवहारमुखी, सिपयुक्त शिक्षा आजको आवश्यकता रहेको चर्चा गर्दै श्रमलाई सम्मान गर्ने व्यवहारवादी शिक्षाले नै मुलुकको समृद्धिमा सहयोग पुग्ने बताए ।

उनले नेपालमा कृषि क्षेत्रको विकासविना आर्थिक समृद्धि सम्भव नभएको चर्चा गर्दै किसानमा रहेको पुस्तौली ज्ञान, अनुभव तथा व्यवहारलाई आधुनिकतासमेतसँग जोडेर लैजानुपर्ने बताए ।

पूर्व सांसद विषमलाल अधिकारी दनुवार, नेपाल शिक्षक युनियनका पूर्व केन्द्रीय अध्यक्ष कृष्ण ढकाल, कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटा, फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवार, शिक्षाविद् हरिप्रसाद पोखरेललगायतले बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement