सहरबाट गाउँ जानेलाई पाँच लाख दिने

Advertisement

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ ।

गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा पाँच लाख रुपियाँ सम्म अनुदान उपलब्ध गराउने भएको हो ।

ग्रामीण क्षेत्रमा सेवा सुविधाको अभाव भन्दै सर्वसाधारणको बसाइँ सरेर जाने क्रमलाई रोक्न गाउँपालिकाले विभिन्न कार्यक्रम बनाएको छ ।

पूर्वाधार निर्माण, आवश्यक स्रोत साधन परिचालन, खानेपानी व्यवस्थापनलगायत योजनाले बसाइँसराइ रोक्ने गाउँपालिकाले नीति लिएको अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

गाउँपालिकाबाट बसाइँसराइ लिएर गइसकेकालाई पुनः फर्काउने र शहरी क्षेत्रमा निस्किएर व्यवसाय गर्नेलाई लक्षित गरी बसाइँ सरेर आउनेलाई व्यावसायिक अनुदान उपलब्ध गराउने निर्णय भएको अध्यक्ष लिम्बूको भनाइ छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को बजेटबाट तत्कालका लागि १० लाख रुपियाँ बजेट व्यवस्था गरेको छ । कार्यक्रमको प्रभावकारिता हेरेर गाउँपालिकाले बजेट थपघट गर्ने तयारी गरेको छ ।

तत्कालीन आङ्दिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे र सुदाप गाउँ विकास समिति मिलेर बनेको छथर गाउँपालिकाको जनसंख्या हाल १६ हजार सात सय ५० मात्रै रहेको छ ।

गाउँपालिकाले कृषि र पर्यटनलाई लक्षित गरी व्यावसायिक वातावरण बनाउन प्रयत्न गरिएको जनाएको छ । यो क्षेत्रमा अहिले पनि तरकारी र दूध आम्दानीको राम्रो स्रोत बनिरहेको छ ।

यसबाहेक शैक्षिक र अन्य साना व्यावसायिक क्षेत्रमा समेत लगानीको पर्याप्त सम्भावना रहेको गाउँपालिकाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement