महासंघसँगकोे नाता तोड्ने चेम्बरको घोषणा, निजी क्षेत्रबीच अस्वस्थ प्रतिस्पर्धा बढ्ने संकेत

bhawani_rana_rajesh_kaji_shrestha

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रुपमा रहेको नेपाल उद्योग बाणिज्य महासंघसँग नेपाल चेम्बर अफ कमर्सले नाता तोड्ने निर्णय गरेको छ । कार्यसमितिको निर्णयसहित चेम्बरले सोमबार महासंघले सदस्यता त्याग्ने पत्र बुझाउँदै छ ।

आइतबार अपरान्ह बसेको कार्यसमिति बैठकले महासंघको सदस्यता त्याग्ने निर्णय गरेको जानकारी दिँदै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले त्यसको कारण भने बताउन चाहेनन् । समितिले सर्वसम्मतरुपमा सदस्यता त्याग्ने निर्णय गरेको उनले बताए ।

एक सदस्यका अनुसार चेम्बरको आफ्नै देशभर संगठन संरचनाहरु निर्माण हुँदै गएको र नेपालकै सबैभन्दा पूरानो निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था तथा चेम्बर अभियानको अगुवा भएकोले महासंघअन्तर्गत बसिरहनु जरुरी छैन ।

मन्पिरिषदले चेम्बर र नेपाल उद्योग परिसंघलाई समेत महासंघीय ढाँचामा जान यसअघि स्वीकृति दिएको थियो । सदस्यता अन्त्यपछि चेम्बरले स्वतन्त्ररुपमा आफ्नो संगठन विस्तार गर्न र गतिविधि सञ्चालन गर्न सक्छ । चेम्बरको निर्णयले महासंघमा खैलाबैला मच्चिएको छ भने परिसंघका सदस्यहरु भने मौन छन् ।

यसले निजी क्षेत्रमै पनि अस्वस्थ प्रतिस्पर्धा बढनसक्ने कतिपयको अडकल छ । महासंघसँग प्रतिस्पर्धा गर्नेगरी चेम्बरले अहिलेसम्म ६० जिल्लामा संगठन विस्तार गरिसकेको छ । अहिलेसम्म सरकारपछि महासंघ मुलुकभर सबैभन्दा ठूलो सञ्जाल भएको संस्था थियो ।

अब उसलाई प्रतिस्पर्धा गर्न चेम्बर पनि अघि सरेको छ । चेम्बरले बाँकी १७ जिल्लामा पनि चाँडै संगठन विस्तार गर्ने बताएको छ । चेम्बरले विस्तार गरेका जिल्ला संघहरुमा कतिपय महासंघका सदस्य पनि छन् । केन्द्रमै समेत महासंघमा रहेका थुप्रै उद्योगी व्यापारीहरु अहिले चेम्बरमा प्रवेश गरेका छन् ।