चुलिँदै वैदेशिक व्यापार घाटा, कूल व्यापारको ६ प्रतिशत मात्र निर्यात

trade-deficit

काठमाडौं । गत आर्थिक बर्ष २०७४।७५ मा देशको कूल वैदेशिक व्यापारको ६ प्रतिशत मात्र निर्यात भएको छ । यसले कूल वैदेशिक व्यापारको मु्ल्यलाई १०० रुपियाँ मन्दा नेपालले मात्र ६ रुपियाँ मुल्य पर्ने वस्तु र सेवाहरु निर्यात गरेको र बाँकी ९४ रुपियाँ मुल्यका वस्तु र सेवाहरु आयात गरेको देखाउँछ ।

भन्सार विभागको तथ्याङक अनुसार गत आवमा कुल १३ खर्ब २४ अर्ब ४८ करोड रुपियाँ बराबरको वैदेशिक व्यापार भएको थियो । जसमध्ये १२ खर्ब ४३ अर्ब १९ करोड रुपियाँको बस्तु तथा सेवा आयात भएको थियो भने ८१ अर्ब १९ करोड रुपियाँको मात्र निर्यात भएको छ ।

nic-asia

यसले नेपालको व्यापार घाटा अत्यान्तै चुलिदै गएको देखाउँछ । गत आर्थिक वर्षमा व्यापार घाटाको आकार बजेटभन्दा ठूलो भएको छ । गत आबका व्यापार घाटा ११ खर्ब ६२ अर्ब रुपैयाँभन्दा माथी पुगेसँगै यसको आकार बजेटभन्दा ठूलो भएको हो । संशोधित अनुमान अनुसार गत आर्थिक बर्षको बजेटको आकार १० खर्ब ८२ अर्ब ९९ करोड रुपियाँ रहेको थियो । यसरी तुलना गर्दा बजेटको आकार भन्दा ८० अर्ब रुपियाँ बढि व्यापार घाटा हुन पुगेको देखिन्छ ।

राजश्वमुखी सरकारी नीति र जनताको बढ्दो उपभोग प्रवृतिका कारण आयात आकाशिंदै जानु तथा तुलनात्मक लाभका बस्तुहरु नहुँदा निर्यात फष्टाउन नसक्नुका कारण नेपालको व्यापार घाटा बर्षेनी उच्च रुपमा बढ्दै गएको छ ।

तथ्याङ्क अनुसार गत आबमा सवैभन्दा बढि १ खर्ब ९७ अर्ब रुपियाँभन्दा बढिको पेट्रोलियम पदार्थ आयात भएको छ । यसैगरी दोस्रो बढि १ खर्ब २५ अर्ब रुपैयाँ बराबरका आईरन एण्ड स्टिल आयात भएको छ भने तेस्रो स्थानमा रहँदै १ खर्ब २४ अर्ब रुपैयाँको मेशिनरी सामान आयात भएको तथ्याङ्कमा उल्लेख छ । सो अबधिमा ८६ अर्ब ३० करोड रुपैयाँको सवारीसाधन भित्रदा ७८ अर्ब २८ करोड रपैयाँको विद्युतीय सामान आयात भएको छ । तर, गत आबमा नेपालबाट बाहिरिने कुनै पनि बस्तुको निर्यात १० अर्ब रुपैयाँभन्दा माथी पुग्न सकेन ।

सो आबमा नेपालबाट सबैभन्दा बढि ९ अर्ब २० करोड रुपैयाँको कफी निर्यात भएको छ । यसैगरी कच्चा धागो, कार्पेट, तयारी पोशाक, फलामका सामानहरु बढि निर्यात हुने बस्तुको सुचीमा रहेका छन् ।

केही बर्ष यता नेपालको व्यापारघाटा लगातार रुपमा बढ्दै आएको र आयात प्रतिस्थापनको लागि आन्तरिक बस्तु उत्पादनमा प्राथमिकता नदिएसम्म यो क्रम नरोकिने विज्ञहरु बताउँछन् ।

आयातमा आधारित सरकारको राजस्व नीति हुनु र रेमिटेन्सका कारणबाट बृद्धि भएको जनताको आम्दानी उपभोग्य वस्तुको खरिदमा केन्द्रीत हुनुले देशको वैदेशिक व्यापारमा घाटा बढ्दै गएको जानकारहरु बताउँछन् ।

पछिल्लो समयव्यापार घाटा बढेसँगै रेमिटेन्सको बृद्धि पनि सुस्ताउँदा देशको समग्र भुक्तान सन्तुलनमा प्रभाव पर्न थालेको छ । देशको भुक्तान सन्तुलनलाई अनुकुल बनाई राख्न सरकारले आन्तरिक उत्पादन बढाउने र आयातलाई निरुत्साहित गर्ने नीति लिनुपर्ने बिज्ञहरुको भनाई छ ।