कालसर्प योग – भ्रम र यथार्थ

Advertisement

[caption id="attachment_46655" align="alignleft" width="150"]diwakar-panta लेखक[/caption]

कालसर्प योगका बारेमा समाजमा विभिन्न खाले धारणा रही आएको छ । त्यत्ति मात्र होइन ज्योतिषहरुकै बीचमा पनि यसका बारे मतभिन्नता रही आएको छ । यसलाई लिएर नदीका दुई किनारा झै दुई खाले धारणा रही आएको छ । खासमा कालसर्प योगका नाममा विकृति फैलाएर गरिने आर्थिक ठगी हो । यो शास्त्रसम्मत छैन भन्ने एउटा दृष्टिकोण रहेको छ भने अर्काे कालसर्प योग केही आधारभुत शास्त्रहरुमा नभएता पनि क्रमशः अनुसन्धानबाट पत्ता लागेको अवस्था हो भन्ने धारणा रही आएको छ ।

के हो कालसर्प योग ?
वैदिक ज्योतिषमा सात वटा भौतिक ग्रह रहेको र दुई वटा अभौतिक ग्रह रहेको निश्चित गरिएको छ । भौतिक ग्रह भौतिकरुपमा यो खगोलमा उपस्थित छन् । साथै यी सौर्य प्रणालीमा सूर्यभन्दा क्रमशः बाहिरी घेरामा रही आएका ग्रह हुन । जसको प्रत्यक्ष असर पृथ्वीमा बस्ने मानिसलाई पर्दछ । त्यसैगरी दुई वटा अभौतिक अवस्थालाई ग्रहसरह कै मान्यतामा ग्रहकै गणनामा समावेश गरिएको छ । त्यो दुई अवस्था सूर्य, पृथ्वी र चन्द्रमाको चक्रका क्रममा उत्पन्न हुने अवस्था हो । जसलाई राहु र केतु भन्ने गरिन्छ ।

राहु र केतु भौतिकरुपमा अवस्थित रहेका ग्रह भने होइनन् । तर पनि मानिसको जीवनमा माथि उल्लेखित सात भौतिकरुपमा अवस्थित ग्रह झै असर पार्न सक्षम हुन्छन् । त्यसैले वैदिक ज्योतिष गणनामा राहु र केतुलाई जोडेर नवग्रह निश्चित गरिएका हुन ।

यसरी सात वटा भौतिकरुपमा अवस्थित रहेका ग्रह राहु र केतुबाट बाँधिएको अवस्था नै कालसर्प योगको अवस्था हो । अर्थात कुनै व्यक्तिको लग्न कुण्डलीमा राहु र केतुभित्र अन्य सबै ग्रह परेमा कालसर्प योगको अवस्था सिजैना हुन्छ । अर्थात राहु र केतुबाट अन्य सवै ग्रह थुनिन पुग्दछन् ।

नक्षत्र गणनाअनुसार राहु ग्रहको नक्षत्र भरणी हो । भरणी नक्षत्रको स्वामी यमराज हुन । त्यसैगरी, केतुको नक्षत्र अश्लेषा हो । अश्लेषा नक्षत्रको स्वामी सर्प हो । यसरी यमराजलाई काल र सर्पलाई सर्प भनेर यस्तो अवस्थालाई कालसर्प योग भनि व्याख्या गरिएको हो । तसर्थ, काल अर्थात मृत्यु र सर्प अर्थात डस्ने अवस्थालाई प्रतिविम्मित गर्दै कालसर्प योगलाई नकारात्मक अवस्था सिर्जना हुने योग भनि चित्रित गरिएको पाइन्छ ।

के हुन्छ कालसर्प योगमा ?
जब राहु र केतुले सबै ग्रहलाई बाँधिदिन्छ, त्यो अवस्थामा अन्य ग्रह चाहे जति सुकै बलियो अवस्थामा किन नहुन, तिनीको क्षमता खुम्चिन पुग्दछ । अर्थात, कालसर्प योग परेका व्यक्तिको जीवनमा ग्रहले राम्रोसँग नतिजा दिनेगरि सक्रिय हुन सक्दैन । ग्रह राहु र केतुबाट एक अर्थमा भन्ने हो भने शक्तिहिन हुन पुग्दछन् । जसरी सर्कसमा राखिएको सिंह बलियो हुँदा हुँदै पनि निरिह हुन पुग्दछ, त्यसैगरी कालसर्प योगमा सात वटा ग्रहहरु क्षमताहिन हुन पुग्दछन् ।

यस्तो अवस्थामा लग्न कुण्डलीमा सात वटा ग्रहहरु बलियो अवस्थामा नै किन नहुन त्यसको पुरापुर सक्रियता हुनैसक्दैन । र त्यसको नतिजा कालसर्प योग सिर्जना भएको व्यक्तिको जीवनमा निश्चित लक्ष्यणहरु देखा पर्दछन र नतिजा पनि देखा पर्न पुग्दछ ।

कालसर्प योगको नतिजा
कालसर्प योग सिर्जना भएका व्यक्तिको जीवनमा अन्य औसत कुण्डली भएको व्यक्तिको जीवनमाभन्दा बढि संघर्षको अवस्था सामना गर्नुपर्ने हुन्छ । अर्थात, कुनै पनि स–साना विषयका लागि पनि धेरै संघर्ष गर्नुपर्ने हुन्छ । साथै, ज्यादा मेहनत गर्नुपर्ने हुन्छ ।

त्यसरी गरेको संघर्ष र मेहनतबाट थोरै मात्र नतिजा हात पर्ने हुन्छ । अर्थात मेहनत र संघर्ष ज्यादा तर त्यसको नतिजा भने न्युन हुन पुग्दछ । यसले गर्दा व्यक्तिमा निराशाको भाव उत्पन्न हुन पुग्दछ । सोहीस्तरको संघर्ष र मेहनत गर्ने अन्य सहकर्मीको जीवनमा ज्यादा उपलब्धी हुने तर आफनो जीवनमा कम उपलब्धी प्राप्त हुँदा व्यक्तिमा निराशा आउन जान्छ ।

साथै, कालसर्प योग हुने व्यक्तिहरुमा सुखमय अवस्था कम हुन्छ । अर्थात त्यत्ति सुखमय अवस्था सिर्जना गर्न त्यस्ता व्यक्तिहरु सफल हुँदैनन ।

त्यसैगरी कालसर्प योग भएका व्यक्तिहरु सर्पदेखि अत्याधिक डराउने खालका हुन्छन् । सडकमा वा बाटोमा फ्याकिएको डोरी वा तारको टुक्रालाई पनि सर्प देख्न पुग्दछन र डराउने गर्छन । साथै टेलिभिजनमा देखाउने सर्पको दृश्य हेर्दा झसङ्ग हुने गर्छन ।

त्यसैगरी, कालसर्प हुने व्यक्तिहरुले सपना ज्यादा देख्ने गर्छन । र सपनामा पनि सर्पसँग सम्बन्धित घटनाहरु ज्यादा देख्न पुग्दछन् । यस्तो अवस्था बारम्बार भई रहँदा उनीहरुमा मानसिक दबाब देखा पर्दछ । जसले गर्दा फ्रेस हुन नसक्ने, सदैव मनमा कुरा खेलिरहने, अनावश्यक विषय वस्तुहरुबाट डर लागिरहने, मनमा त्रास उत्पन्न भइरहने हुन्छ ।

कालसर्प योगको निवारण
हो, यसबाट उत्पन्न हुने समस्या निवारणका लागि विभिन्न उपायहरु अपनाउन सकिन्छ । आ–आफनो आर्थिक हैसियतअनुसार खर्चालु उपायदेखि कम खर्च लाग्ने उपायहरु पनि यसमा अपनाउन सकिन्छ । यसको शान्ति गराउने विधीअनुसार शान्ति गराएमा ठिक हुन्छ ।

मुख्यतया कालसर्प योग भएका व्यक्तिले नापञ्चमीमा श्रद्धापूर्वक नागपूजा अनिवार्य गर्नुपर्ने हुन्छ । त्यसो गरेमा उक्त व्यक्तिमा शान्ति मिल्दछ । साथै, आ–आफनो कुल परम्पराअनुसार आफनो पुख्यौली थलोका नागस्थानहरुमा गरिने नाग पूजा गर्नुपर्ने हुन्छ । साथै, घरमा पनि नागपूजा गर्न सकिन्छ । नागपञ्चमीका दिन दैलोमा वा ढोकामा नागको पोष्टर ल्याएर विधीपूर्वक गाईको गोवरले टाँसेर, गाईको दुध, गाईको ध्यू आदी अर्पण गरेर पूजा गर्न सकिन्छ ।

साथै यदि सपनामा ज्यादा सर्प देखेमा, मनमा अनावश्यक तनाव भई रहेमा अघिपछि पनि नागदह, पोखरी, नागपोखरी, परम्परागत नागपूजा गर्ने स्थल आदीमा गएर नाग पूजा गर्न सकिन्छ । यसबाट व्यक्तिमा तुरुन्त आभाष हुने गरि शान्ति अनुभव गर्न सकिन्छ ।

साथै कतिपय अवस्थामा अन्य ग्रहलाई शक्तिशाली बनाउन रत्नको प्रयोग पनि गर्न सकिन्छ । साथै, दान दक्षिणाको उपायहरु पनि अपनाएर यसबाट उत्पन्न हुने नकारात्मक अवस्था न्यून गर्न सकिन्छ । साथै, घरको पूजा स्थलमा शीरमा नाग बेरिएको शिवजीको पोष्टर ल्याएर पूजा गर्ने विधी पनि अपनाउन सकिन्छ ।

कालसर्प योग हुन्छ कि हुँदैन ?
हो, यस लेखको थालनीमा लेखिए झै कालसर्प योगबारे विभिन्न विपरित दुई अभिमत रही आएको छ । एउटा अभिमतले वैदिक ज्योतिषका आधारभुत शास्त्रहरुमा यसको प्रसंग छैन । त्यसैले यो कालसर्प योग केही होइन भन्ने गर्छन ।

तर, यथार्थमा वैदिक ज्योतिषका आधारभुत शास्त्रहरुमा यसको प्रसंग नभएता पनि भारतीय र नेपाली ज्योतिषहरुले समयक्रमसँगै यसबारे बृहत्तर अनुसन्धान गरि कालसर्प योग हुने भनि निश्चित गरेका हुन । लग्न कुण्डलीमा कालसर्प योग भएका हजारौं र लाखौं व्यक्तिको जीवनमा यसको असर अनि यसलाई निवारण गर्न अपनाइने उपायले खेलेको भूमिकालाई सन्तुलित ढंगबाट अनुसन्धान गरि यसबारे विद्धान ज्योतिषहरुले कालसर्प योगको व्याख्या गरेका हुन ।

तर, कालसर्प योगलाई देखाएर त्रास सिर्जना गरि सर्वसाधारण व्यक्तिहरुबाट आर्थिक ठगी गर्ने विकृति भने यस भित्रको रोग हो । यो रोग छ भन्दैमा कालसर्प योगको अवस्था हुँदै हुँदैन भन्न मिल्दैन । रोगको निवारण गर्नुभन्दा यस्तो अवस्था नै आउँदैन भन्ने तर्क स्वीकार्न कठिन अवस्था हो ।

ज्योतिषसँग सम्बन्धित नेपालका दुई संस्था, नेपाल पञ्चाङ्ग निर्णायक समिति र नेपाल ज्योतिष परिषदले कालसर्प योग शास्त्रसम्मत नभएको भन्दै यसलाइ अस्वीकार्य भनेको छ । तर, यी दुवै संस्था आवद्ध केही ज्योतिषहरुको अभिमत कालसर्प योग हुने भन्ने रही आएको पनि छ । कालसर्प योग सिर्जना भएका सैयौं मानिसको जीवनमा यसको लक्षणहरु देखा परेका छन र त्यसको निवारण गर्दा ठिक भएको छ । यस्तो अवस्थामा कालसर्प योगलाई अस्वीकार्य गरिहाल्ने अवस्था पनि छैन । तर, कालसर्प योगका नाममा हुने विकृतिलाई निवारण गर्न भने अनिवार्य छ ।

त्यसकारण कालसर्प योग सिर्जना भएका व्यक्तिहरुले यसको बहसमा अल्झनुभन्दा आउँदो नागपञ्चमीका दिन श्रद्धापूर्वक नागपूजा गरेमा शान्तिको महशुस गर्न सक्नु हुनेछ । त्यसैगरी कम खर्चिलो उपाय अपनाएर यसको शान्ति गर्न पनि सकिने उपायहरु अपनाउन सकिन्छ ।

(पन्त, नेपाल ज्योतिष परिषद्का पार्षद एवं दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुन् सम्पर्क नं. ९८४१५२७५१०)

Advertisement

Advertisement

Advertisement