सात लाख पर्यटकले घुमे संरक्षित क्षेत्र

Advertisement

काठमाडौं । देशका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा गत आर्थिक वर्षमा छ लाख ९९ हजार पाँच सय ५२ पर्यटकले भ्रमण गरेका छन् ।

भ्रमण गर्नेमध्ये सार्कका ६९ हजार नौ सय ३५ सहित विदेशी तीन लाख २५ हजार आठ सय ५६ र स्वदेशी तीन लाख तीन हजार सात सय ६१ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

नेपालका एक सय १८ पारिस्थितिकीय प्रणालीमध्ये हालसम्म ८० किसिमका संरक्षित क्षेत्रमा पर्दछ । संरक्षित क्षेत्रमा पर्यटकको भ्रमणबाट सो अवधिमा ६४ करोड ६४ लाख ७२ हजार नौ सय ९२ रुपियाँ राजश्व आम्दानी भएको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिए ।

विभागले संरक्षित क्षेत्रमा पर्यटक प्रवेश र वृत्तचित्र निर्माण शुल्कलगायत शीर्षकमा राजश्व सकंलन गर्छ । आर्थिक वर्ष २०७३÷७४ सो क्षेत्रमा छ लाख ४ हजार ९१ स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरे । त्यसबाट ५५ करोड २७ लाख ३६ हजार पाँच सय ३ रुपियाँ राजश्व संकलन भयो ।

सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जबाट २० करोड १५ लाख आठ हजार छ सय ८१ रुपियाँ राजश्व आम्दानी भयो । सबैभन्दा बढी दुई लाख पाँच हजार सात सय ४७ पर्यटकले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भ्रमण गरेको देखिन्छ ।

राष्ट्रिय वनस्पति उद्यानमा आर्थिक वर्ष ०७३÷७४ मा जम्मा तीन लाख ८२ हजार चार सय ३६ आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरे । त्यसबाट एक करोड ४१ लाख ७० हजार रुपियाँ राजश्व आम्दानी भएको विभागले जनाएको छ ।

पारिस्थितिकीय प्रणालीअनुरुप वंशाणुस्रोत र जैविक विविधताको संरक्षणमा नेपाल अग्रणी मुलुक हो ।

मुलुकको कूल भूभागमध्ये २३ दशमलव ३९ प्रतिशत भाग संरक्षित क्षेत्र अवधारणा अनुरुप राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, मध्यवर्ती क्षेत्र र संरक्षण क्षेत्रजस्ता ढाँचामा व्यवस्थापन गरिएका छन् ।

हालसम्म चितवन, बर्दिया, सगरमाथा, रारा, शे–फोक्सुण्डो, लाङटाङ, मकालु बरुण, खप्तड, शिवपुरी नागार्जुन, बाँके, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्ज स्थापना भएका छन् ।

कोशी टप्पु वन्यजन्तु आरक्ष, ढोरपाटन शिकार आरक्ष, तथा अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गा, अपिनाम्पा, गौरीशङ्कर र कृष्णसार संरक्षण क्षेत्र स्थापना भइसकेको सूचना अधिकारी रुपाखेतीले बताए ।

ती पर्यटन प्रवद्र्धनका हिसाबले महत्वपूर्ण क्षेत्र हुन् । नेपाल आउने विदेशी पर्यटक मध्ये ६० प्रतिशतले ती क्षेत्रको भ्रमण गर्ने गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलले संरक्षित क्षेत्रमा पर्यावरणीय सन्तुलन कायम गर्दै पर्यटन प्रवद्र्धनलाई प्रोत्साहन गर्ने नीति र योजना मन्त्रालयले अघि बढाएको बताए ।

नेपालमा करीब छ हजार खोला र नदीनाला, छ सय ६० तालतलैया र दुई सय ४२ ठूला तथा मझौला सीमसार क्षेत्र छन् । दुई सय ४२ सीमसार क्षेत्रमध्ये १० रामसार सूचीमा सूचीकृत छ ।

प्राकृतिक सम्पदाको संरक्षण गर्ने काममा नेपालले दक्षिण एशियामा विशिष्ट स्थान हाशिल गरेको छ ।

मध्यवर्ती क्षेत्रमा स्थानीय बासिन्दालाई आवश्यक पर्ने वन पैदावारको नियमित आपूर्तिलगायत संरक्षित क्षेत्रले आर्जन गरेको आम्दानीको ३० देखि ५० प्रतिशतसम्म प्राकृतिक स्रोतको संरक्षण, आयआर्जन, संरक्षण शिक्षा र सामुदायिक विकासको लागिसमेत खर्च गरिन्छ ।

Advertisement

Advertisement

Advertisement