काठमाडौंमा थप आठ आकाशे पुल निर्माण गरिने

Advertisement

काठमाडौं । काठमाडौं महानगरकापालिले चालू आर्थिक वर्षमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ ।

दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो ।

काठमाडौं महानगरपालिकाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनीयर रामबहादुर थापाले भने, “दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र पैदलयात्रुको सुरक्षा गर्न पुल बनाइनेछ ।”

टेकु भन्सार, त्रिपुरेश्वर, माइतीघर, बबरमहल (काठमाडौं जिल्ला अदालत), पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पुल बनाइनेछ ।

सवारीसाधनको अत्यधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्दै आएको छ । पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ ।

नयाँ ती पुल बनाउन १२ करोड रुपियाँ बजेट विनियोजन गरिएको प्रमुख थापाले बताए ।

विज्ञापन राख्न नमिल्ने गरी केही स्थानको आकाशे पुलको डिजाइन तयार भएको र अन्यको तयारी चरणमा छ । महानगरले यसअघि निर्माण गरेको आकाशे पुलमा विज्ञापन राखेर आम्दानी गर्दै आएको थियो ।

काठमाडौं महानगरपालिकाले केही समयदेखि जथाभावी विज्ञापन, पर्चा पम्पलेट, पोस्टर टाँस्न रोक लगाको छ । गत आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले विज्ञापन करबापत १० करोड ९४ लाख ८६ हजार ७९ रुपियाँ असुल गरेको थियो ।

नयाँ बन्ने पुल एक ठाउँबाट अर्को ठाउँमा आवश्यकताअनुसार सजिलै स्थानान्तरण गर्न सकिने छ । यस्तो पुल पहिलो पटक बन्न लागेको हो । यसअघि परीक्षणका रुपमा पुरानो बसर्पाक अगाडि स्थानान्तरण गर्न मिल्ने पुल बनेको थियो ।

डिजाइन तयार भएका पुल बनाउन बोलपत्र आह्वान यही साउनभित्रै गरी निर्माण शुरु गरिने प्रमुख इञ्जिनियर थापाले बताए ।

अब बन्ने पुल भने काठमाडौं महानगरपालिकाले आफ्नै खर्चमा बनाउन लागेको हो ।

काठमाडौं महानगरपालिकाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालु छन् । रत्नपार्कमा एउटा सव–वे छ ।

भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छ । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताइएको छ । वीरअस्पताल अगाडिको पुल अत्यन्त जीर्ण छ ।

काठमाडौं महानगरपालिकाभित्रका यसअघिका पुल निजी क्षेत्रले बनाएकोले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने उनले बताए । मर्मत गर्न महानगरले समन्वय गर्नेछ ।

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७५÷७६ को लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजार रुपियाँको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आर्थिक वर्षमा चार अर्ब छ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ ।

काठमाडौं महानगरपालिकाभित्र करीब एक हजार चार सय ५० किलोमिटर पक्की सडक छ । काठमाडौं महानगरपालिकाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मत सम्भार गर्छ ।

काठमाडौं महानगरपालिकाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक नौ सय ५० किलोमिटर छ ।

काठमाडौं महानगरपालिकाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।

Advertisement

Advertisement

Advertisement