एउटै परिवारबाट विद्यालय भवन बनाउन तीस लाख सहयोग

Advertisement

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घरमा स्थानीयवासीको पहलमा विद्यालय भवन पुनःनिर्माण गरिएको छ ।

वि.सं २०७२ वैशाखमा गएको भूकम्पका कारण जीर्ण बनेको मुक्तिमार्ग मावि यहाँका बासिन्दाले ५० लाख रुपियाँ सहयोग जुटाएर पुनःनिर्माण गरेका हुन् । उक्त भवन पुनःनिर्माण गर्न एउटै परिवारले ३० लाख रुपियाँ सहयोग गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रामबहादुर खड्काका अनुसार १२ कोठे भवन पुनःनिर्माणका लागि स्थानीयवासी टीकाबहादुर खड्काको परिवारले ३० लाख रुपियाँ भन्दा बढी सहयोग गरेको हो ।

खड्का परिवारले ११ लाख २४ हजार रुपियाँमा तीन रोपनी जग्गा खरिद गरी सो विद्यालय व्यवस्थापन समितलाई उपलब्ध गराएको थियो ।

उक्त भवन पुनःनिर्माणका लागि गाउँपालिकाले १० लाख रुपियाँ, स्थानीयवासी कृष्णप्रसाद बरुवालले दुई लाख ५० हजार रुपियाँ, विद्यालयका पूर्वविद्यार्थी प्रशान्त मोहन रेग्मीको पहलमा जर्मनीको हिमालयन फ्रेन्डसिभ संस्थाले १६ लाख ७७ हजार रुपियाँ, हाल जापानमा रहेका दधीलाल खड्काले ५१ हजार रुपियाँ तथा बेल्जियममा रहेका नारायण खड्काले रु ४५ हजार सहयोग गरेका छन् ।

सहयोग जुटेपछि चार कोठा थप निर्माण गरिएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।

कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा तीन सय २२ विद्यार्थी अध्ययन गरिरहेको प्रधानाध्यापक मेखबहादुर खड्काले बताए ।

Advertisement

Advertisement

Advertisement