भारतीय पक्षद्धारा सीमा मिचेर सडक विस्तार

Advertisement

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा भारतीय पक्षले एकतर्फी सडक विस्तार गरिरहेको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने यहाँको मुख्य सिमास्तम्भ नं ३ मा आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण कार्यलाई तीव्रता दिएको हो ।

टनकपुर ब्यारेजकदेखि उत्तर ब्रह्मदेव बजार छेउसम्म करीब एक हजार तीन सय मिटर पक्की सडक निर्माणकार्य भारतले थालेपछि ब्रह्मदेवका स्थानीयवासीले त्यसको विरोध गरिरहेका छन् ।

‘टकनपुर ब्यारेजदेखि करीब एक हजार मिटरसम्म भारतीय भूमि पर्ने भनिँदैआएको छ ।’ भीमदत्त नगरपालिका– ९ का वडाध्यक्ष रामनाथले भने, “ भारतले नेपाली पक्षसँग समन्वय र सहकार्य नै नगरी करीब दुई सय मिटर परसम्म सडक बनाउन लागेको छ ।”

सीमा स्तम्भ नं ३ लामो समयदेखि त्यहाँ नभएकाले सीमा विवाद पटक÷पटक हुँदैआएको थियो । केही समयअघि नेपाल–भारत संयुक्त सीमा सर्वे टिमले सो क्षेत्रको फिल्ड सर्वे गरेर टनकपुर तटबन्धको सिँढी (टनकपुरदेखि एक हजारमिटर उत्तर ड्याममा बनाएको सिँढी)लाई नेपाल–भारत सिमाना मानिँदै आएको थियो ।

उक्त सिमाना मानिएको क्षेत्रमै ३ नं सीमा पिल्लर पर्ने सर्वे टिमले बताए पनि भारतले एकतर्फी रुपमा उक्त क्षेत्रमा सडक बनाउन लागेपछि आफूहरु विरोधमा उत्रिएको स्थानीयवासी गगनसिंह कार्कीले जानकारी दिए ।

वि.सं २०४०÷४२ तिर ३ नं सीमा पिल्लर महाकाली नदीको बिचमा थियो, त्यो पिल्लरमै बसेर गोरु चराएको छु ।’ उनले भने, “पिल्लर नहुँदा लामो समयदेखि भारतले सीमा सराउँदै नेपालतर्फ दाबी गर्दै आएको छ ।”

भारतले हाल नदीको तटबन्ध र तटबन्धको जमीनको सतहको गरी दुबै सडक पक्की बनाउन लागेको छ । तटबन्धमाथिको सडक करीब १ हजार एक सय ५० मिटर बनाउने ठेक्का भएको छ, भने तटबन्धको फेदमा टनकपुर ब्यारेजदेखि करीब एक हजार तीन सय मिटर सडक बनाउँदै छ ।

टनकपुर पुल र बाँध निर्माणका क्रममा महाकाली नदीकोबीच भागमा रहेको पिल्लर भारतीय पक्षबाट गायब पारिएको ब्रह्मदेवका स्थानीय बासिदाको आरोप छ । सोही क्षेत्रमा करीब ११ हेक्टर नेपाली भूमि भारतीय पक्षबाट मिचिएको दाबीसहित हालसम्म उक्त विषयको कुनै लेखाजोखा नरहेकोसमेत स्थानीयवासी बताउँछन् ।

‘दशगजा र नेपाल–भारत सीमाको कुनै वास्ता नभइ सडक बन्न थालेपछि हामीले स्थानीय प्रशासनदेखि नगरप्रमुखसम्मलाई खबर गरेका छौं ।’ वडाध्यक्ष रामनाथले भने, “टनकपुर सन्धिअनुसार सडक भारतले बनाइरहेको भए पनि सिमाना छुट्याएर मात्रै बनाओस् भन्ने स्थानीयवासीको प्रमुख माग हो ।”

उनले लामोसमयदेखि भारतीय सीमा सुरक्षाकर्मीले ब्रह्मदेवको नेपाली बस्ती देखाएर सीमा यहाँसम्म पर्छ, भनेर निगरानी राख्दै आएको बताए । मङ्गलबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासहितको सुरक्षा निकायको टोलीले सडक निर्माणस्थलको अवलोकनसमेत गरेको छ ।

‘सडक निर्माणमा भारतले नेपाली पक्षसँग समन्वय गरेको छैन ।’ प्रमुख जिल्ला अधिकारी खड्काले भने–‘उक्त क्षेत्रमा लामो समयदेखि विवाद रहेकाले संयुक्त सर्वे टिमले टुंगो लगाएपछि मात्रै काम अगाडि बढाउन भारतीय पक्षलाई भनेका छौं ।’

उनले भारतीय पक्षसँग सडक निर्माण रोक्न भनिएको जानकारी दिँदै सो विषयमा कुराकानी भइरहेको बताए । स्थानीय प्रशासनले भारतीय पक्षलाई काम रोक्न भने पनि मङ्गलबार बिहानसम्म सडक निर्माणको काम भने रोकिएको छैन । भारतले विगत दुई महिनादेखि उक्त क्षेत्रमा ठेक्का प्रक्रियाबाट सडक निर्माणको काम थालेको हो ।

Advertisement

Advertisement

Advertisement