सूचनाको शक्तिलाई विकास र समृद्धिसँग जोड्नुपर्छः लालबाबु पण्डित

Advertisement

काठमाडौं । नागरिकलाई सूचना दिन र माग्न प्रेरित गरेर स्थानीय सरकारले लोकतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय सूचना आयोगले बुधबार आयोजना गरेको प्रदेश नं ३ का स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँग सूचनाको हकसम्बन्धी छलफल कार्यक्रममा लोकतन्त्रको प्राण वायु सूचना भएकाले यसतर्फ सचेत हुन आह्वान गरियो ।

कार्यक्रमको उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सार्वजनिक निकायका कुनै पनि विषयवस्तु लुकाएर फाइदा नहुने भएकाले त्यसलाई सार्वजनिक गर्नुपर्ने बताए ।

‘कानूनअनुसार तत्काल दिनुपर्ने सूचना समयमै र विधि एवम् प्रक्रिया पुर्याएर दिने व्यवस्था गरिएका सूचना त्यसै बमोजिम दिइनुपर्छ, नकारात्मक सूचना छिटो प्रवाह हुने र सकारात्मक सूचना प्रवाह हुन समय लाग्ने गरेकाले सरोकार भएका निकाय यसतर्फ सचेत हुनुपर्छ’, उनले भने ।

आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनालाई विकास र समृद्धिसँग जोडेर प्रवाह गर्न स्थानीय तहका जनप्रतिनिधि एवम् प्रमुख प्रशासकीय अधिकृतलाई अनुरोध गरे । सूचना शक्तिको स्रोत भएकाले यसलाई समृद्धिका लागि उपयोग गरिनुपर्ने उनको भनाइ थियो ।

आयोगका आयुक्त किरणकुमार पोखरेलले ‘जनअनुभूत लोकतन्त्रका लागि स्थानीय तहमा सूचनाको हक र आयोगको दायित्व’ एवम् अर्का आयुक्त यशोदा तिम्सिनाले ‘सूचनाको हक र सूचना अधिकारी’ विषयक कार्यपत्र प्रस्तुत गरे ।

प्रस्तुतिका क्रममा आयुक्तद्वयले खुला र पारदर्शी भएर सूचना प्रवाह गर्दा जवाफदेही एवम् जनसहभागितामूलक लोकतन्त्रको अभ्यास स्थानीय तहमा हुने बताए ।

कार्यक्रममा प्रदेश नं ३ का महानगरपालिका,उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख वा उपप्रमुख एवम् अध्यक्ष वा उपाध्यक्षमध्ये एक तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता थियो ।

Advertisement

Advertisement

Advertisement