चितवनका विभिन्न सहकारीबाट ४९ लाख चोरी

Advertisement

चितवन । जिल्लामा सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ ।

विगत ६ महिनामा जिल्लका नौ सहकारी संस्थामा चोरी भएको छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती सहकारीबाट ४९ लाख ३८ हजार रुपियाँ बराबरको चोरी भएको छ । एउटा सहकारीबाट १० हजार रुपियाँदेखि ३५ लाख रुपियाँसम्म चोरी भएको छ ।

सवैभन्दा बढी सर्वोदय बहुउद्देश्यीय सहकारी भरतपुरबाट ३५ लाख ८० हजार रुपियाँ चोरी भएको छ । गीतानगर साना किसान गरिबी निवारण कृषि सहकारी संस्थाबाट १० हजार रुपियाँ, भरतपुरस्थित इन्द्रग्राम पुनर्मिलन सहकारीबाट ५० हजार रुपियाँ, माडीको सहनशील महिला सहकारीबाट एक लाख ११ हजार रुपियाँ, बछ्यौलीको साना किसान कृषि सहकारीबाट ३६ हजार रुपियाँ तथा बछ्यौलीकै वछ्यौली नारी चेतना सहकारीबाट एक लाख १५ हजार रुपियाँ चोरी भएको छ ।

यस्तै रत्ननगरको एकीकृत कृषक बचत तथा ऋण सहकारीबाट एक लाख ९९ हजार रुपियाँ, भरतपुरको अभ्युदय बहुउद्धेश्यीय सहकारीबाट तीन लाख १७ हजार रुपियाँ र भरतपुरकै प्रभा दिदी बहिनी सहकारीबाट छ लाख ५३ हजार रुपियाँ चोरी भएको जिल्ला प्रहरी कार्यालयको दर्ता उजुरीमा उल्लेख छ ।

चोरीमा सम्बन्धित कार्यालयकै कर्मचारी तथा सो विषयबारे जानकार व्यक्तिको संलग्नता रहेको पाइएको ढकालले बताए ।

घटनाको अनुसन्धान गर्न टोली गठन गरी परिचालन गरिएको छ । सहकारीमा चोरी गर्ने गिरोहले सिसी क्यामेरा नष्ट गरेर चोरी गर्ने गरेको पाइएको छ । शृङ्खलावद्ध रूपमा सहकारी संस्थामा चोरी हुन थालेपछि सहकारीकर्मी चिन्तित बनेका छन् ।

Advertisement

Advertisement

Advertisement