नेपाल र बंगलादेशबीच विद्युत खरीद सम्झौंता, प्रसारण लाइनका लागि भारतसँग त्रिपक्षीय छलफल गरिने

Nepal-bangladesh-electricity

काठमाडौं। नेपाल र बंगलादेशबीच बहुप्रतिक्षित विद्युत खरीद सम्झौंता भएको छ। शुक्रबार राजधानीमा आयोजित एक समारोहकाबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले सम्झौंतापत्रमा हस्ताक्षर गरेका छन्।

समझदारीपत्रअनुसार दुई देशबीच सहकार्यका लागि ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति र सहसचिवस्तरमा संयुक्त प्राविधिक समूह गठन हुनेछ । आगामी दुई महिनाभित्रै ती समितिको बैठक बसेर भावी कार्यदिशा तय गरिनेछ ।

‘‘नेपालको ऊर्जा र जलस्रोतका क्षेत्रमा सहकार्यका लागि एउटा महत्वपूर्ण अवसर आएको छ । त्यसको लागि हामीले मार्गप्रशस्त गरेका छौँ । आज सोही सिलसिलामा महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ’ मन्त्री पुनले भने।

यो सम्झौंतापछि बंगलादेशले नेपालबाट पाँच सय मेगावाट विजुली आयात गर्नेछ। दुई देशबीच विद्युत् कारोबारका लागि आवश्यक प्रसारण लाइन निर्माणका लागि विमस्टेक सम्मेलनमा भारतसँग त्रिपक्षीय छलफल गर्ने सहमति पनि भएको छ।

नेपालको ऊर्जा क्षेत्रमा बङ्गलादेश सरकार स्वयंले नै लगानी गर्ने र निजी कम्पनीलार्इ समेत प्रोत्साहित गर्ने सहमति भएको छ।

बङ्गलादेशले नेपालबाट करीब पाँच हजार मेगावाटसम्म विद्युत् लैजान तयार रहेको बताउँदै आएको थियो।

भारतीय कम्पनी जिएमआरले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत समेत बंगलादेशलाई बिक्री गर्ने तयारी भएको यसअघि नै सार्वजनिक भएको थियो । भारतसँग विद्युत् व्यापार सम्झौता (पिटिए) भइसकेको छ ।