‘टुबोर्ग दबाङ द टुर’ ठगी प्रकरणः गोर्खा ब्रुअरीले फेरि पक्राउ गरायो ओडीसीका सञ्चालक गुरुङलाई

Advertisement

काठमाडौं । भारतीय नायक सलमान खानलाई टुँडिखेलमा नचाउने भन्दै करोडौं रुपियाँको टिकट बिक्री गरेर कार्यक्रम गर्न नसकेपछि टिकटको रकम फिर्ता नगरेका कारण ठगी आरोपमा पक्राउ परेका ओडीसी इन्टरटेनमेन्टका सञ्चालक सिमान्त गुरुङ धरौटिमा रिहा हुनासाथ फेरि पक्राउ परेका छन् ।

टुबोर्ग दबाङ द टुर नामक कार्यक्रम आयोजना गर्ने भन्दै करोडौं रुपियाँको टिकट बिक्री गरेका उनलाई अहिले भने चेक बाउन्स प्रकरणमा पुनः पक्राउ गरिएको हो ।  धरौटी बुझाए लगतै गुरूङलाई पुनः पक्राउ गर्नुको कारण चेक बाउन्स भएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गत असार २९ गते टिकटको पैसा फिर्ता नगरी ठगी गरेको आरोपमा पक्राउ गरेको थियो । अहिले भने चेक बाउन्स प्रकरणमा पुनः गर्नुको कारण टुबोर्ग दबाङ द टुरको मुख्य प्रयोजक रहेको गोर्खा ब्रुअरी भएको स्रोतको भनाई छ ।

खलमानलाई ल्याउन भन्दै उत्प्रेरित गरेको गोर्खा ब्रुअरीले कार्यक्रमका लागि भन्दै दुई करोड रुपियाँ अग्रिम भुक्तानी दिएको थियो । तर, कार्यक्रम हुन नसकेपछि उसले गुरुङलाई पैसा फिर्ता गर्न दबाब दिएको थियो । दबाब दिए पनि करोडौं रुपियाँ पहिलो नै प्रचार र अन्य कार्यमा खर्च गरेका गुरुङले फिर्ता गर्नसक्ने अवस्था नभएपछि उसले प्रशासनको सहायता लिएको हो ।

सलमानलाई ल्याएर नचाउन र आफ्नो टुबोर्ग ब्राण्डको प्रचारका लागि ओडीसीलाई उत्प्रेरित गरेको गोर्खा ब्रुअरीले कार्यक्रम सफल हुन नसकेपछि उनलाई सिध्याउने काम गरेको छ । जिल्ला अदालत काठमाडौंले बिहीबार गुरूङलाई धरौटीमा छुट्न आदेश दिएको थियो । पन्द्र लाख रुपियाँ धरौटी बुझाएका गुरूङलाई बिहीबार नै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स गरेको अभियोगमा पक्राउ गरेको हो । बाउन्स भएको चेक गोर्खा ब्रुअरीकै भएको स्रोतको दावी छ ।

गत फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने भनिएको सलमान खानको द ब्याङ टुर कार्यक्रम स्थगित भए पनि टिकटको पैसा फिर्ता माग्ने डरले ओडीसीले सो कार्यक्रम फेरि आयोजना गर्ने भन्दै उपभोक्ताहरुलाई ढाँट्दै आएको थियो । नायक सलमान खानले एउटा कार्यक्रम आयोजना गर्ने नाममा चन्द्रागिरि हिल्सदेखि पोखराका विभिन्न होटलसँग करोडौं रुपियाँ लिएको थाहा पाएपछि अन्तिम सयमा उनले कार्यक्रम स्थगित गरेका थिए ।

सोही समयमा नेत्रविक्रम चन्द नेतृत्वको मजदुर संगठनले कार्यक्रम विथोल्ने चेतावनी दिएपछि सलमानलाई कार्यक्रम स्थगित गर्न सहयोग पुगेको थियो । गोर्खा ब्रुअरी विवादास्पद व्यवसायी सीपी खेतानको समेत लगानी रहेको कम्पनी हो । यो कम्पनी कार्सबर्ग जस्तो बहुराष्ट्रिय कम्पनीको लगानी रहेको कम्पनी भए पनि नेपालमा भने कर छली र अन्य थ्रुप्रै विवादमा पटक पटक पर्ने गरेको छ ।

Advertisement

Advertisement

Advertisement