एक मन्त्रीको दावी– कहाँ कर बढाउनु, छैन, बाहिर हल्ला मात्रै गरिएको हो

Advertisement

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईएको दावी गरेका छन् ।

रिपोर्टर्स क्लवमा शुक्रबार उनले भने, ‘वर्तमान सरकारले कर बढायो र जनतालाई ठूलो मारमा पार्यो भनेर अफवाह फैलाईयो । तर, बाहिर अफवाह फैलाईएको जस्तो कर बढाइएको छैन । स्थानीय, प्रदेश र केन्द्र सरकारले छुट्टाछुट्टै कर लगाउन आँट्यो भनिएको छ, यो अफवाह मात्रै हो । यो त सरकारका बारेमा आलोचना गर्ने बहाना मात्रै हो ।’

स्थानीय तहदेखि प्रदेश र केन्द्रले समेत नयाँ नयाँ शीर्षकहरुमा कर लागू गर्ने र बढाउने काम गरेको भन्दै जनताले व्यापक आलोचना गरिरहेको बेला खनालले भने कर नबढाएको दावी गरेका हुन् । उनले जग्गाको हदबन्दी लगाउन खोज्यो भनेर तराईका मालपोत कार्यालयहरुमा जग्गा बेच्नेको भीड बढेको सुनाउँदै भने, ‘सरकारले जग्गाको हदबन्दी लगाउन थाल्यो भनेर पनि जथाभावी हल्ला फैलाईएछ । चार विघाभन्दा बढि जग्गा राख्न नपाईने भनेर हल्ला फैलाईएछ । जबकी यो विषयमा सरकारले कहीँ कतैपनि बोलेको छैन ।’

मन्त्री खनालले सरकारले केही महिनाभित्रै जनतालाई राहतको महशुस हुनेगरि राम्रो कामहरु गर्ने जिकिर गरे । उनले भने, ‘हो, अहिले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेको छैन । तर केही राम्रा कामको सुरुवात सबै मन्त्रालयहरुले गरेका छन् ।’

मन्त्री खनालले बाहिरबाट ल्याईने वस्तुहरुमा समेत नियमन गर्न जरुरी रहेको सुनाए । उनले भने, ‘हामीले आत्तिएर भन्दापनि नआत्तिकन राम्रा कामहरु गर्न जरुरी छ । खनालले भने्, ‘कृषि, पर्यटन, उर्जा सबै क्षेत्रमा दिगो रुपमा विकास गर्नुपर्छ । आगामी पाँच वर्षसम्म हामी दिगो विकासको जग हाल्छौं ।’

त्यस्तै फरक प्रसँगमा उनले कालीमाटी फलफुल तथा तरकारी बजारमा देखिएको सिन्डिकेट अन्त्यको लागि आफूले ठोस कदम चालिसकेको पनि जनाए । उनले थपे, ‘कृषकहरुले आफूले उत्पादन गरेका वस्तुहरु निर्वाधरुपमा ढुवानी गर्न पाउनुपर्छ ।’ भदौ मसान्तसम्म बजारको सुधार हुनुपर्नेगरि आफूले निर्देशन दिएको सुनाउँदै खनालले आफू भदौ २८ गते कालीमाटी बजारको स्थलगत् अवलोकनमा जाने बताए ।

मुलुकको कुल ग्राहस्थमा कृषिको योगदानमा यसपटक वृद्धि हुने मन्त्री खनालले विश्वास छ । खाद्य गुणस्तरको स्तरीयता कायम गर्न आफूले खाद्य सुरक्षा अभियान नै चलाईरहेको उनको भनाई छ । खनालले भने, ‘विभिन्न २२ वटा पानीका फ्याक्ट्रीहरुमा अहिले ताला लगाईएको छ । गलत गर्नेलाई हामी छोड्दैनौं । हामी मुद्दा चलाउँछौं ।’

मासुमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य आफूले लिएको बताउँदै खनालले थपे, ‘मासुमा हाम्रो देशलाई आत्मनिर्भर बनाउनुपर्छ । र, हुन सक्छ पनि । अहिले विदेशबाट आयातित मासुको पनि राम्रोसँग नियमन भएको छैन । मासुमा आत्मनिर्भर बनाउनको लागि कार्यक्रम चाहिएको छ । म त्यतातिर लागेको छु ।’

नेपालमा संघीयता असफल हुन लागेको हो र ? भनेर सोधिएको एक प्रश्नमा उनले भने, ‘संघीयताको कार्यान्वयन हुँदैछ । भारतमा त संघीयता पूर्णरुपमा कार्यान्वयन हुन १५ वर्ष लाग्यो । केही वर्ष पहिलेसम्म त्यहाँ प्रदेशको राजधानी र केन्द्र राख्नेबारे विवाद थियो ।’
संविधानमा उल्लेख भएबमोजिम केन्द्रले प्रदेशलाई अधिकार दिने उनको भनाई छ । उनले भने, ‘मैले त धेरै अधिकारहरु तल प्रदेशमा पठाएको छु । पशु सेवा निर्देशनालय तल पठाएको छु । अब सुपर जोन र जोनपनि तल पठाउनेबारे सोचिरहेको छु ।’

Advertisement

Advertisement

Advertisement