बंगलादेशसँगको उर्जा व्यापार सम्झौता ऐतिहासिक, बंगलादेशलाई ६० हजार मेगावाट बिजुली जरुरी

Advertisement

काठमाडौं । नेपाल बङ्गलादेशबीच शुक्रबार भएको ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीले लगानीका बृहत् सम्भावनाको ढोका खुलेको टिप्पणी गरिएको छ ।

दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्री सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मार्ग प्रशस्त भएको उल्लेख गर्दै ऊर्जा क्षेत्रका जानकार तथा सरोकार भएका निकायले समझदारी एक ऐतिहासिक घटना भएको बताए ।

यहाँस्थित बङ्गलादेशी राजदूतावासको आयोजना र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) तथा इनर्जी डेभलपमेन्ट काउन्सिलले आयोजना गरेको अन्तक्र्रियाका सहभागीले नेपाल लगानीका लागि सुगम र सहज गन्तव्य भएकोमा जोड दिए ।

सरकारी अध्ययनमा नै तत्काल लगानीका लागि ४० हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना सहज भएको भन्दै कार्यक्रमका सहभागीले आजको द्विपक्षीय समझदारी नयाँ अध्याय भएको स्पष्ट पारे ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले ऊर्जा र जलस्रोतको क्षेत्रमा नेपाल सुगम गन्तव्य भएको भन्दै सरकारी तथा निजीस्तरमा पनि थप सम्भावनाको ढोका खुलेको बताए ।

उनले बोर्डले ठूला परियोजनामा सहजीकरण गरिरहेको उल्लेख गर्दै सम्झौताले सरकारी र निजी क्षेत्रलाई थप प्रेरित गर्ने स्पष्ट पारे ।

बोर्डले सहजीकरण गरेको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणमा गइसकेको र माथिल्लो कर्णाली जलविद्युत् आयोजना वित्तीय व्यवस्थापन र विद्युत् खरिद सम्झौताको तहमा पुगेको प्रमुख कार्यकारी अधिकृत अधिकारीको भनाइ छ । ती दुवै आयोजना भारतीय कम्पनीले लगानी गरेका परियोजना हुन् ।

इपानका पूर्वअध्यक्ष खड्गबहादुर विष्टले कार्यपत्र प्रस्तुत गर्दै विद्युत् रणनीतिक सामान भएकाले क्षेत्रीय बजारमा बिना रोकावट कारोवार हुने वातावरण बनाउनुपर्ने बताए ।

उनले बङ्गलादेशलाई विद्युत् चाहिएको र नेपालमा उत्पादनको सम्भावना भएकाले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलनले पारित गरेको सार्क ग्रीड फ्रेमवर्कमा रहेर पनि विद्युत् आदानप्रदान र प्रसारणमा सहजीकरण गर्न सकिने बताए ।

भारतसँग विद्युत् व्यापार सम्झौता भएको र त्यस्तै सम्झौता भारत र बङ्गलादेशबीच पनि भएकाले त्यसलाई त्रिपक्षीय बनाउन सके ऊर्जा आदानप्रदानमा थप सहज हुने इपानका पूर्वअध्यक्ष विष्टको भनाइ छ ।

इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले नेपालको ऊर्जा क्षेत्रमा ५० प्रतिशत स्वामित्व निजी क्षेत्रको भएको भन्दै नेपाल र बङ्गलादेशका निजी क्षेत्रले मिलेर काम गर्न सकिने सम्भावनासमेत आजको समझदारीले खोलेको बताए ।

सो अवसरमा बङ्गलादेशका ऊर्जा, विद्युत् र खनीज राज्यमन्त्री नसरुल हमिदले ऊर्जा क्षेत्रमा लगानीका लागि नेपाल र बङ्गलादेश हातमा हात मिलाएर अघि बढ्ने सहमत भएको बर्ताए । उनले भने, “आगामी महिना नेपालमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को शिखर सम्मेलन हुन लागेको छ । सो अवसरमा नेपालका प्रधानमन्त्री, बङ्गलादेशका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीबीच महत्वपूर्ण छलफल हुने मैले विश्वास लिएको छु ।”

उनले द्विपक्षीय समझदारी छिट्टै त्रिपक्षीय हुने भएकाले नेपालमा सहजरुपमा सरकारी र निजी क्षेत्रले ऊर्जा क्षेत्रमा लगानी गर्ने मार्ग प्रशस्त भएको बताए ।

नेपालमा राजनीतिक स्थिरता कायम भएको, बलियो लोकतान्त्रिक सरकार गठन भएको भन्दै राज्यमन्त्री हमिदले दुई देशबीचको सहकार्यले दुवै देशका जनताको सपना पूरा हुने विश्वास लिएको बताए ।

उनले सन् २०४१ सम्म बङ्गलादेशलाई विकसित राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य आफ्नो सरकारले राखेको भन्दै त्यसका लागि करीब ६० हजार मेगावाट विद्युत् जरुरी रहेको जानकारी दिए ।

नेपालले पनि विद्युतीय सवारीसाधन प्रयोग ल्याउन सुझाव दिँदै राज्यमन्त्री हमिदले भने, “बङ्गलादेशमा समेत विद्युतीय सवारीसाधनको प्रयोग शुरु भएको छ, नेपालले पनि त्यस्तो मार्गमा अगाडि बढ्दा इन्धन आयात घटन गई राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुग्न जान्छ ।”

विद्युत् आयातका लागि नेपाल प्रमुख प्राथमिकतामा रहेको भन्दै राज्यमन्त्री हमिदले नेपालसँगै भुटान र भारतसँग पनि सहकार्य गर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्टे साम्सले दुई देशबीचको मैत्री सम्बन्धलाई आगामी दिनमा नयाँ आयाम थप्दै लैजाने उल्लेख गरे ।

Advertisement

Advertisement

Advertisement