उखु किसानले अझै भुक्तानी पाएनन्, ४० करोड उठ्न बाँकी

Advertisement

नवलपरासी । पश्चिम नवलपरासीका उखु किसानले सरकारले निर्धारण गरेअनुसार चिनी उद्योगबाट उखु बिक्री गरेबापतको बाँकी रकम भुक्तानी पाउन सकेका छैनन् ।

सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५३६.५६ रुपियाँ निर्धारण गरे पनि उखु किसानलाई उद्योगले प्रतिक्विन्टल ४६५.९२ रुपियाँका दरले मात्र रकम दिँदै आएक छन् ।

सरकारले तोकेको मूल्यअनुसार किसानले रकम नपाउँदा उनीहरु ठगिन बाध्य भएको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए । यादवका अनुसार यस वर्षबाट सरकारले चिनी उद्योगलाई यसअगावै दिँदै आएको भ्याटबापतको सहुलियत रकम हटाएपछि सो भ्याटबापतको रकम किसानबाटै उद्योगले असुली गरेर मात्र भुक्तानी गरेको अवस्था छ ।

जिल्लामा बागमती खडसारी चिनी मिल, इन्दिरा सुगर इण्डष्ट्रिज र लुम्बिनी चिनी मिल गरी तीन ठूलो चिनी मिल रहेका छन् । लुम्बिनी चिनी मिलबाहेक बागमती खडसारी चिनी मिल र इन्दिरा सुगर इण्डष्ट्रिजले मात्र किसानको बाँकी रकम भुक्तानी गरिरहेका छन् ।

अघिल्लो वर्ष प्रतिक्विन्टल ५३१ रुपियाँ मूल्य पाएका उखु किसानले यस वर्ष सरकारले निर्धारण गरेको रु ५३६.५६ रुपियाँका दरले भुक्तानी पाउने आशामा थिए । निर्धारण गरेको मूल्यअनुसार रकम नपाउँदा किसान निरास बनेको उखु किसान लख्खु यादवको भनाइ छ ।

तुलनात्मक रूपमा पश्चिम नवलपरासीमा पछिल्लो केही वर्षयता उखु उत्पादनमा कमी आएको अवस्था देखिन्छ । समयमै उचित मूल्य पाउन नसक्दा किसान बिस्तारै उखु खेतीबाट केरा खेतीतर्फ आकर्षित बन्दै गएका कारण उत्पादन घट्दै गएको छ ।

पूर्वका चिनी उद्योगले प्रतिक्विन्टल ४६५.९२ रुपियाँका दरले भुक्तानी गरेकाले यस क्षेत्रका उद्योगले पनि सोहीअनुसार भुक्तानी गरिएको इन्दिरा सुगर इण्डष्ट्रिजका महाप्रबन्धक टंकनाथ काफ्ले जानकारी दिए।

हालसम्म चिनी उद्योगले किसानलाई करीब ५० प्रतिशत रकम मात्र भुक्तानी गरिसकेका छन् । किसानले सरकारले निर्धारण गरेअनुसारको रकम पाउनुपर्ने र यसका लागि स्थानीय प्रशासनले उद्योग र किसानबीच समन्वय गर्न लागेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए ।

उखु उत्पादक महासंघका केन्द्रीय सदस्य प्रेमचन्द्र गुप्ताका अनुसार पश्चिम नवलपरासीका सबै चिनी उद्योगबाट करीब ४० करोड रुपियाँ बाँकी रकम भुक्तानी लिन बाँकी रहेको छ ।

पश्चिम नवलपरासी उखुको पकेट क्षेत्रको रुपमा लिइन्छ । जिल्लामा कूल साँढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । यहाँका करीब १४ हजार जनसङ्ख्या प्रत्यक्ष र अप्रत्यक्ष रूपमा उखु खेतीमा आवद्ध छन् ।

Advertisement

Advertisement

Advertisement