भारतबाट आयात भइरहेकोमध्ये १२० मेगावाट बन्द हुँदै, उद्योगहरुमा लोडसेडिङ हुनसक्ने

Advertisement

काठमाडौं । ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रसारणलाइनको स्तरोन्नती गर्न भन्दै उक्त प्रसारणलाइनबाट आयात हुँदै आएको सयदेखि १२० मेगावाट विजुलीको आयात चार दिनका लागि रोकिने भएको छ ।

उक्त प्रसारणलाइनअन्तर्गत मुज्जफरपुरतर्फको हाल १३२ केभीमा चार्ज भइरहेको सेटअपलाई २२० केभीमा चार्ज गरी क्षमता बढाउनुपर्ने भएकोले केही दिन आयात रोक्नुपरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । त्यसरी चार्ज गरेपछि ढल्केबर–मुज्जफपुरबाट थप १५० मेगावाट विद्युत आयात गर्न सकिने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीको भनाई छ ।

नेपाललाई अहिलेको बर्षाको बेलाका लागि थप विद्युत आयातको जरुरी नभए पनि हिउँदको लागि भने आयात बढाउनुपर्ने हुन्छ । नेपालतर्फको सवस्टेशन यसअघि नै २२० केभीमा चार्ज भइसकेको भन्दै अधिकारीले भारततर्फको एरेन्जमेन्टको क्षमता बढाउने काम सोमबारबाट सुरु हुने बताए । यद्यपि नेपालतर्फ कम्युनिकेशन र प्रोटेक्शनसम्वन्धी काम अझै केही बाँकी रहेको छ ।

आयात घट्दा सर्वसाधारण उपभोक्ताको घरमा बिजुली कटौति नभए पनि उद्योगहरुले बेलुकीको समयमा खपत कम गर्नुपर्ने प्राधिकरणको भनाई छ । त्यसका लागि सुचना प्रकाशित गर्ने तयारी भइरहेको प्रवक्ता अधिकारीले बताए । भारतको विभिन्न नाकाबाट शनिबार ३८६ मेगावाट विद्युत आयात भइरहेको छ । यसअघि झण्डै पाँचसय मेगावाटसम्म विद्युत आयात भएको थियो ।

बर्खाका कारण अहिले नदीहरुमा पानीको सतह बढेकाले अधिकांश आयोजनाहरु पूर्ण क्षमतामा सञ्चालन भइरहेको छन् । सोही कारण भारतबाट आयात भइरहेको बिजुली एकसय भन्दा बढि घट्दा यसको खासै असर नपर्ने भएको हो ।

चारसय केभीको ढल्केबर–मुज्जफपुर प्रसारणलाइनअन्तर्गत दुवै तर्फको सवस्टेशनहरुको क्षमता पूर्णरुपमा बढाएपछि एक हजार मेगावाटसम्म विजुली आयात निर्यात गर्न सकिन्छ । त्यसका लागि अझै एक बर्ष कुर्नुपर्ने प्रवक्ता अधिकारीले बताए । प्रसारणलाइनको संरचना यसअघि नै एक हजार मेगावाट बिजुत बग्नका लागि तयार भइसके पनि सवस्टेशनको स्तरोन्नती भने क्रमसः बढाउँदै लगिएको छ ।

Advertisement

Advertisement

Advertisement