कर्णाली प्रदेशको संसदहल चुहिन थाल्यो

Advertisement

सुर्खेत । सिँचाइ डिभिजन कार्यालय सुर्खेतको हलमा अस्थायीरूपमा सञ्चालन हुँदै आएको कर्णाली प्रदेशको सभाहलमा पानी चुहिन थालेको छ ।

अलि बढी पानी पर्ने बित्तिकै सभाहल चुहिन थाल्छ । हल चुहिँदा प्रदेशसभा सदस्यहरु बैठकमा जोगिएर बस्नुपर्दछ । राजधानी सुर्खेतजस्तो ठाउँमा सभा भवन नै चुहिने भएपछि सबैलाई लज्जित बनाएको छ । यसो हुनुमा गुणस्तरहीन भवन, नियमित मर्मत् सम्भार नहुनु र घर पुराना हुँदै जानु हो भन्छन्, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही ।

शैक्षिक तालीम केन्द्रमा सभाहल बन्ने कार्य तीव्रगतिमा भइरहेको छ । साउण्ड सिस्टमका लागि कोटेशन गर्न सरकारसँग बजेट माग गरिरहेका छौँ, सभामुख शाहीले भने । अब दुई महिनापछि अर्को अधिवेशन शैक्षिक तालीम केन्द्रमा प्रदेशसभाको बैठक बस्ने उनको भनाइ छ ।

त्यसैगरी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी बस्ने आवास चुहिँदा अन्तै बसाइँसराइ गर्नुपर्ने बाध्यता आइलागेको छ । बनेका घरहरू गुणस्तरहीन र भूकम्प आउँदा एकै झट्कामा गल्र्यागुर्लुम ढल्ने जोखिम रहेकाले त्रसित मनस्थितिमा बस्नुपरेको कानूनमन्त्री भण्डारीले बताए ।

त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले पनि मन्त्रालय, आवास सबै चुहिने गरेको बताए । भवनहरू चुहिने मात्र नभई धमिरा पनि त्यत्तिकै लाग्ने गरेको उनको भनाइ छ । मन्त्री खत्रीले भने, ‘कर्णालीमा सडक, पुल, भवनजस्ता सबै पूर्वाधार गुणस्तरहीन हुँदा समस्या यो प्रदेशभरि नै छ ।’

वैकल्पिक सभाहलका रूपमा सञ्चालन भएको प्रदेशसभा स्थानान्तरण हुने भए पनि सरकारी अधिकारी तथा सरकारका मन्त्रीहरुको बसाइ सकसपूर्ण छ ।

शहरी विकास तथा भवन निर्माण विभागका क्षेत्रीय निर्देशनालय सुर्खेतका निमित्त प्रमुख कमलकुमार दर्लामीले घर पुराना भएको र त्यसको मर्मतसम्भार नभएको बताए ।

बनेका संरचनाको बेलाबेलामा मर्मतसम्भार नहुनुले राजधानीभित्रै बढी समस्या देखिएको छ । यद्यपि राजधानी वीरेन्द्रनगरका मन्त्रालय जान यही असारको दोस्रो साता कालोपत्रे गरिएका सडकको पिच उप्किसकेको छ । गुणस्तरहीन पिच गर्ने निर्माण व्यवसायीमाथि सम्बन्धित निकायले तत्काल कारबाही गर्न स्थानीयले सुझाएका छन् ।

Advertisement

Advertisement

Advertisement