नेपाल टेलिकमले १५ अर्ब ६६ करोड नाफा गर्यो

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्षमा करिब ४५ अर्ब ५६ करोड ५८ लाख रुपियाँ आम्दानी गरी करिब १५ अर्ब ६६ करोड ७५ लाख रुपियाँ नाफा गरेको छ । कम्पनीको कुल आयमा अघिल्लो आर्थिक वर्षको तुलनामा दुई दशमलव १९ प्रतिशतले बृद्धि भएको हो ।

कम्पनीको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा एक दशमलव ९२ प्रतिशतले बृद्धि भएको छ । जसले गर्दा कम्पनीको प्रतिशेयर आम्दानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा एक दशमलव ९६ रुपियाँले बृद्धि भई प्रति शेयर आम्दानी एक सय चार दशमलव ४५ रुपियाँ पुगेको छ ।

त्यस्तै कम्पनीले केही वर्ष अघि शुरु गरेको महत्वाकांक्षी आयोजना ‘एकीकृत विलिङ प्रणाली’मा ल्याण्ड लाइन सेवा समेत रुपान्तरित भएपश्चात् गत आर्थिक वर्षमा आयोजना सम्पन्न गरेको छ ।

विगत लामो समय देखि सञ्चालनमा रहेका ल्याण्ड लाइन सेवाका पुराना उपकरणहरु विस्थापन गरी टिडीएम माइग्रेसन आयोजना अन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस उपकरण मार्फत सेवा प्रदान गर्न आरम्भ गरेकोमा हालसम्म करिब एक लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सेवा सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ ।

त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट खर्च हुने गरी भूकम्प प्रभावित क्षेत्र मध्ये अति प्रभावित चार जिल्लाका सात सय ४७ स्थानमा ब्रोडव्याण्ड इन्टरनेट सेवा सञ्चालन गर्ने जिम्मेवारी कम्पनीले तोकिएको समय अगावै सम्पूर्ण स्थानमा सेवा सञ्चालनमा ल्याउन सफल भएको छ ।

२०७५ जेठ मसान्त सम्ममा कम्पनीका टेलिफोन ग्राहक संख्या १ करोड ९७ लाख ४७ हजार चार सय ४५ रहेको छ । यसैगरी इन्टरनेट ग्राहक संख्या १ करोड छ लाख ५२ हजार चार सय २९ रहेको छ । २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक संख्या टेलिफोनतर्फ २१ लाख ४५ हजार दुई सय २३ र इन्टरनेटतर्फ २२ लाख २६ हजार पाँच सय ३५ ले बृद्धि भएको कम्पनीले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षको शुरुवातमा कम्पनीको बजार हिस्सा ४९ प्रतिशत रहेकोमा गत जेठ महिनामा सो बजार हिस्सा २ प्रतिशतले बृद्धि भई ५१ प्रतिशत पुर्याएको छ । कम्पनीले इतिहासमा पहिलो पटक कम्पनी ऐनले तोकेको समय भित्रै कम्पनीको वार्षिक साधारण सभा सम्पन्न गरी कम्पनीका शेयर होल्डरलाई हाल सम्मकै सबैभन्दा बढी लाभांस वितरण गरेको छ ।

कम्पनीले सञ्चालक समितिमा कर्मचारीको प्रतिनिधित्व गराउने सम्बन्धी निर्वाचन र कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन लामो समय देखि रोकिएर रहेकोमा गत आर्थिक वर्षमा दुवै निर्वाचन गराएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५।७६ का लागि समेत विभिन्न महत्वाकांक्षी योजना अघि सारेको छ । यस मध्ये केही महत्वकांक्षी योजना आवको शुरुवातसँगै कार्यान्वयनमा आउन थालेको कम्पनीले जनाएको छ ।
कम्पनीले सूचना महामार्गको पूर्वाधार विस्तार गर्नको लागि नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषबाट वित्तीय सहयोग प्राप्त हुने गरी प्रदेश नम्बर एक, र्दुइ, र तीनको मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइवर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गर्नका लागि जम्मा पाँचवटा बोलपत्र आह्वान गरेको छ । यस अनुसार पाँचथरको चियो भञ्ज्याङ देखि गोर्खा(धादिङको आरुघाटसम्म कुल दुई हजार एक सय ७९ किलोमिटर अप्टिकल फाइवर नेटवर्क विस्तार गरिने कम्प्नीले जनाएको छ ।

त्यस्तै कम्पनीले पहाडी जिल्लाका सदरमुकामहरुमा सञ्चालनमा रहेको एडीएसएस आयोजनामार्फत एक हजार किलोमिटर अप्टिकल फाइवर विस्तार कार्य चालु आर्थिक वर्षको प्रथम त्रैमासिक भित्र सम्पन्न गरिने लक्ष्य लिएको छ ।
साथै कम्पनीले काठमाडौं(तराई दु्रत मार्गमा नेपाली सेनासँग सहकार्य गरी भूमिगत रुपमा अप्टिकल नेटवर्क विस्तार गर्ने लक्ष्य लिएको छ ।

कम्पनीले चालु आर्थिक वर्षमा प्रदेश नम्बर १, २, ३ बाहेकका क्षेत्रहरुमा समेत उच्च क्षमतायुक्त ट्रान्समिसन उपकरणहरु जडान गरी पूर्वाधार बिस्तार गर्ने जनाएको छ । शहरी तथा ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास गर्ने उद्देश्य लिई नेपाल सरकारका विभिन्न निकायहरूसँग थप सहकार्य गर्दै सेवाको पहुँच विस्तार गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

जीएसएम मोवाइल सेवाको चालु आर्थिक वर्ष २०७५–७६मा पोष्टपेडतर्फ ५९ हजार आठ सय ३० सिमकार्ड र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल सिम कार्ड बितरण गर्ने कम्पनीले लक्ष्य लिएको छ । मोबाइल सेवाप्रति ग्राहक हरुको बढ्दो रुचीलाई ध्यानमा राखी प्रमुख शहरहरुमा ‘फोर जी’ सेवा सञ्चालन आरम्भ भैसकेको कम्पनीले जनाएको छ । मुलुकभर गुणस्तरीय ‘थ्रि जी’ सेवा उपलब्ध गराउने लक्ष्यसहित यस आर्थिक वर्षमा थप प्रविधिको जडान गरी सेवा विस्तारको कार्यलाई तिब्रता दिएको छ ।

यससँगै कम्पनीले चालु आर्थिक वर्षका लागि अन्य विभिन्न योजनाहरु अघि सारेको छ । जस अन्तर्गत ल्यान्ड लाईन सेवाको प्रविधिमा विकास, अधिक क्षमताका टावर निर्माण, उच्च क्षमताका इन्टरनेट प्रविधियुक्त फोर जी तथा एलटिई सेवा, गुणस्तर भिवृद्धि, मर्मत इकाईहरु थप्ने लगायतका योजनाहरु रहेका छन् ।

Advertisement

Advertisement

Advertisement