मकालुले पनि भदौ १६ बाट व्यवसायिक उडान गर्ने

Advertisement

काठमाडौं । नेपाल बायु सेवा निगमले गत साउन १६ गते भित्र्याएको दोस्रो वाइडबडी विमान ‘मकालु’ले यही आउँदो भदौ १६ गतेदेखि व्यवसायिक उडान गर्ने भएको छ । फ्रान्सको तुलुज शहरबाट ल्याइएको मकालुले एक महिनापछि उडान शुरु गर्ने तयारी गरेको हो ।

‘जहाज विमानस्थल ल्याउनासाथ उडाउन मिले होइन’, निगमका महाप्रबन्धक सुगरत्न कंसकारले भने,  ‘सबै प्रक्रिया पूरा गर्दै भदौ १६ बाट निगम उडान शुरु हुन्छ ।’ निगमको दोस्रो वाइडबडी मकालुले पनि पुरानै गन्तव्यबाट उडान शुरु गर्ने उनले जानकारी दिए ।

निगमले थप नयाँ तीन गन्तव्यहरु साउदी अरब, जापान र कोरिया उडान गर्ने भने पनि प्रक्रिया पूरा भएको छैन । निगमले अहिले भारतका तीन शहर, मलेसिया, दुबई, कतारको दोहा, हङकङ र बैंककमा उडान गर्दै आएको छ । निगमले नागरिक लागानी कोष र सञ्चय कोषसँग सरकारको जमानीमा २४ अर्ब रुपियाँ ऋण लिएर दुई वटा वाइडबडी जहाज खरिद गरेको थियो ।

निगमले एउटा जहाजको १० करोड ४८ लाख अमेरिकी डलरका दरले खर्चगरी नेपाल भित्र्याएको हो । यस अघि निगमले गत असार १४ गते भित्र्याएको पहिलो वाइडबडी विमान अन्नपूर्णले भने व्यवसायिक उडान गरिरहेको छ । पहिलो वाइडबडी जहाज अन्नपूर्णले यही साउन १६ गतेदेखि उडान शुरु गरेको हो ।

Advertisement

Advertisement

Advertisement