विराटनगरमा रहेको भारतीय फिल्डअफिस हट्नु सम्वन्ध सुधारको उदाहरणः भट्टराई

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता राजन भट्टराईले विराटनगरमा रहेको भारतीय फिल्ड अपिस हट्नुलाई भारतसँगको राम्रो सम्वन्धको संकेत भएको बताएका छन् । रिपोर्टर्स क्लवमा उनले भारतसँग सम्वन्ध राम्रो हुँदै गए पनि व्यापार घाटा भने कम गर्नु जरुरी रहेको बताए ।

झण्डै ७० प्रतिशत व्यापार भारतसँग रहेको र उसँगको व्यापार घाटा छिटोभन्दा छिटो घटाउनुपर्ने भट्टराईको भनाई छ । अरुण तेस्रोको शिल्यान्यासले उर्जाबारे नयाँ ढोका खोलिदिएको पनि उनले बताए । भट्टराईले भने, ‘अब द्धिपक्षीय सम्बन्ध नयाँ युगमा प्रवेश भएको छ । दुवै मुलुकको विन–विन अवस्था छ ।’

दुवै देशले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर आपसी हित, पारस्परिक लाभ हाँसिल गर्दै द्धिपक्षीय सम्बन्ध अघि बढाउनुपर्ने भट्टराईको भनाई छ । उनले भने, ‘अब हामी आगामी २० देखि ३० वर्षको योजना बनाएर अघि बढ्नुपर्छ । एक–अर्काप्रति सहयोगी बनेर अघि बढ्नुपर्छ ।’ कृषि, पर्यटन लगायत नयाँ नयाँ क्षेत्र पहिल्याउँदै अघि बढ्नुपर्ने भट्टराईले बताए ।

आफू सम्मिलित प्रवुद्ध व्यक्ति समूह (ईपीजी)ले संयुक्त प्रतिवेदनलाई पूर्णता दिएको बताउँदै भट्टराईले भने, ‘हामीले बडो जिम्मेवारीपूर्ण ढंगले नेपाल–भारत सम्बन्धका आयामहरुलाई समेटेर प्रतिवेदन तयार पारेका छौं । दुवै देशको सरकारको अनुमति रह्यो भने हामी यो प्रतिवेदनलाई सार्वजनिक गर्छौं ।’ संयुक्त प्रतिवेदनलाई जनस्तरमा ल्याउनुपर्ने उनले आवश्यकत्ता औंल्याए ।

Advertisement

Advertisement

Advertisement