अनियमितता गर्नेलाई कारवाही नगर्दा बेरुजु बढ्योः महालेखा परीक्षक

Advertisement

काठमाडौं। महालेखा परीक्षक टंकमणि शर्माले सरकारको उदासिनताका कारणले बषैपिच्छे बेरुजु रकम बढ्दै गएको बताएका छन् । सरकारले अनियमितता गर्नेहरुलाई कारवाही नगरेकैे कारणले बेरुजु बढ्दै गएको उनले बताए ।

बुधवार संघीय संसदको सार्वजनिक लेखा समितिलाई महालेखा परीक्षकको कार्यालयको कामकारवाहीबारे जानकारी गराउँदै उनले सरकारलाई कारवाहीका लागि सिफारिस गरे पनि कारवाही नगर्दा बेरुजु बढ्दै गएको बताए।

‘सरकार आर्थिक अनुशासन पालना गराउन उदासिन भएकाले भन्दै उनले त्यसतर्फ सरकारलाई सचेत गराउन समेत आग्रह गरे। ‘प्रशासनिक दक्षताको अभावमा पनि वित्तीय क्षेत्रमा सुधार आउन सकेको छैन,’ उनले भने ।

उनले लेखा परीक्षणको कामलाई प्रभावकारी बनाउन प्रदेश तहमा पनि सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरिएको जानकारी दिएका छन्। उनले विश्वव्यापी मान्यता अनुसार महालेखा परीक्षकको कर्मचारीको व्यावस्थापनका लागि छुट्टै व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे ।
‘अहिले महालेखा परीक्षको कर्मचारी सरकारले परिचालन गर्ने व्यवस्था छ । सरकारलाई अब कर्मचारी महालेखा परीक्षकको कार्यालयबाट परिचालन हुने व्यवस्था गर्न अनुरोध गरेका छौँ,’ शर्माले भने ।

बैठकमा समितिका सदस्यहरुले बढदो आर्थिक अराजकता अन्त्य गर्ने योजना ल्याउन पनि महालेखा परीक्षकको कार्यालयको ध्यानाकर्षण गराएका थिए।

Advertisement

Advertisement

Advertisement