प्रदेश २ को संसदमा भाषण गर्दै ओलीले भने- यो प्रदेशको मलाई साह्रै चिन्ता छ

Advertisement

जनकपुर । प्रधानमन्त्री केपी ओलीले प्रदेश २ को विकासका लागि आफू निकै चिन्तित रहेको बताएका छन्। शनिबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले यो प्रदेशको विकासलाई लिएर आफूलाई चिन्ता रहेको बताए ।

ओलीले भने, ‘यो प्रदेशको मात्र कुरा गर्ने हो भने प्रदेश निकै पछाडि छ। यसको विकासका लागि संघीय सरकार अत्यन्तै चिन्तित छ।’ प्रदेश २ को आफूलाई चिन्ता मात्रै नरहेको, विकासको लागि पनि प्रतिबद्ध रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले प्रदेश २ मा विकासका असाधारण सम्भावना रहेको भन्दै सिचाईँ उपलब्ध गराइ खेतीयोग्य जमिनमा उब्जाउ गर्न सकिने, उद्योगधन्दाहरुको विकास गर्न सकिने बताए ।

नागरिकताको प्रशंगमा प्रधानमन्त्री ओलले तराई भावनामा बगेको टिप्पणी गर्दै हरेक नेपाली, नेपाली नागरिक भएको र सबैले नागरिकता प्रमाणिपत्र पाउने बताए । जन्मसिद्ध बाबुआमाका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने कानुन संसदबाट पारित हुने क्रममा रहेको जानकारी दिँदै उनले संविधानका आधारमा कसैमाथि पनि विभेद नहुने बताए।

ओलीले भने, ‘हामीले कानुन मन्त्रिपरिषद्बाट संसदमा पठाइसकेका छौँ। मैले गृह मन्त्रालयलाई भनेको छुः अब जन्मसिद्धका सन्तानले नागरिकता पाउने कुरा नरोक्नू।’ बाबु वा आमामध्ये एकसँग नागरिकता छ भने सन्तानले नागरिकता पाउने उनले बताए।

हामीहरुले संविधान बनाएको हो, धर्मशास्त्र होइन भन्दै ओलीले भने, ‘संविधान समाजलाई बाटो देखाउने गतिशील दस्तावेज हो। यसले आजमात्र होइन, भोलिपनि बाटो देखाउनुपर्छ, आवश्यकताका आधारमा संशोधन हुन्छ।’ यसअघि संविधान संशोधनको चर्को विरोध गर्दै आएका उनी पछिल्लो समयमा संविधान संशोधनमा लचक भएको कुरा गर्दै आएका छन् ।

ओलीलाई कालो झण्डाले स्वागत
प्रदेश २ को संसदमा भाषण गर्न शनिबार बिहान जनकपुर आइपुगेका प्रधानमन्त्री ओलीलाई जनकपुरधाममा कालो झण्डा देखाइएको छ । कडा सुरक्षा घेराका बाबजुद पनि युवाहरुले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका हुन् ।

ओली आउने कुरा सार्वजनिक हुने बित्तिकै खासगरी राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यहरुले विरोध गर्दै आएका छन् । जनकपुरधाम विमानस्थलबाट प्रदेशसभा भवन जाने बाटोमा युवाहरुले कालो झण्डा देखाएका हुन् । यसैक्रममा करिब छ सात जना युवाहरुलाई प्रहरीले पक्राउसमेत गरेको बताइएको छ ।

मधेशका समस्याहरु सम्बोधन गर्ने मौखिक प्रतिबद्धता प्रधानमन्त्रीले दिएपनि अहिलेसम्म कुनै माग सम्बोधन नगरेकोले उनलाई मधेशको भूमिमा प्रवेश गर्ने नैतिक अधिकार नरहेको भन्दै कालो झण्डा देखाइएको हो ।

Advertisement

Advertisement

Advertisement