वालिङका मेयर भन्छनः पहिला जनताको आय बढाउँछौं, अनि मात्रै कर लिन्छौं

Advertisement

स्याङजा। स्थानीय निकायहरुले जथाभावी कर बढाएर जनता आतंकित बनाइरहेको बेला यहाँको एक नगरपालिकाका मेयरले भने जनतालाई आयस्तर बढाएर मात्रै थप कर लिने घोषणा गरेका छन् ।

वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँणले जनता धनी नभएसम्म थप कर अशुल्नु न्यायसँगत नहुने भन्दै आफ्नो नगरपालिकामा स्मार्ट सिटी र स्मार्ट भिलेज विकास गर्ने अवधारणा अघि सारेका छन् । नगरभित्र विकास राम्रो भयो भने जनता खुशी भएर आफै कर तिर्न अग्रसर हुने उनको विश्वास छ ।

स्थानीय तहहरुले स्वायत्तताको नाममा कर बढाउँदा सरकार निकै आलोचित बन्न पुगेको छ । प्रदेशहरुले पनि आफ्नो भागमा पर्ने कर उठाउन आवश्यक तयारी गरिरहेका छन् । संघीयता आएपछि देश विकास हुने दलका नेताहरुले बताए पनि सरकार विकासभन्दा कर अशुलीमै अल्मलिएको छ ।

वालिङ नगरपालिका स्मार्ट सिटी हुने भन्दै मेयर खाँडले नगरको विकासको लागि सर्वप्रथम सुशासनसम्वन्धी कानुन बनाउने, लगानीको सुरक्षाको प्रत्याभूतिसहित आकर्षित गर्ने, उत्पादन तथा बजारमा स्थानीय सहभागिता बढाउने बताएका छन् ।

उनले जनतालाई सहज सेवा दिन नगरपालिकाले इन्टरनेट प्रविधिमार्फत नगरवासीले वडामै समेत नपुगी धेरै सेवाहरु घरबाट लिनसक्ने व्यवस्था सुरु गरिएको बताए । त्यसका लागि नगरपालिकाले भदौ १५ गतेबाट नगरपालिका एप्स पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।

नगरपालिकालाई तिर्नुपर्ने कर, नगरपालिका वा वडा कार्यालयबाट जनताले गर्नुपर्ने कुनैपनि कामका लागि अब कार्यालय धाउनुपर्ने छैन । साथै, नगरपालिकाले इनोभेसन सेन्टर पनि स्थापना गरेको छ ।

यस सेन्टरले नगरपालिकालाई प्रविधिमैत्री र स्मार्ट बनाउने विश्वास मेयर खाँडको छ । सेन्टरमार्फत नगरपालिकाको क्षेत्र भित्रको पिउने पानीको शुद्धता मापन गर्ने, सडक तथा सरकारी कार्यालयमा सेन्सर जडित बत्तीको काम भइरहेको छ छैन ? हेर्ने, जस्ता जनताका आधारभूति सुविधाहरुको अनुगमन गरिने छ ।

इनोभेसन सेन्टरका लागि नगरपालिकाले भारतबाट उपकरणसमेत मगाएको छ । नगरपालिकाभित्र रहेका स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थी र विज्ञान शिक्षकलाई यो प्रविधि सिकाउने काम भईरहेको छ ।

वालिङ नगरपालिकाले पाँच वटा औद्योगिक क्षेत्र तयार गर्नुका साथै नगरभित्र उद्योग स्थापना गर्न चाहनेहरुलाई नगरपालिकाले सस्तो मूल्यमा जग्गा उपलब्ध गराउने घोषणा पनि गरेको छ । यी औद्योगिक क्षेत्रमा अहिलेसम्म सात अर्ब रुपियाँको लगानी प्रतिबद्धता आइसकेको खाँणले बताए । यसबाहेक वालिङमा पतञ्जलीले १० अर्ब रुपियाँ लगानी गर्ने जनाइसकेको छ ।

लगानी आकर्षित गर्न नगरपालिकाले छुट दिनुका साथै एक घर एक उद्यमको योजना समेत बनाएको छ । नगरपालिकाभित्रै गाउँले उत्पादन गर्ने र सहरले उत्पादन गरी आत्मनिर्भर बनाउने तरिकाले काम भइरहेको मेयर खाँडले बताएका छन् । साना लगानीका व्यवसायलाई नगर आफैले लगानी गरिदिने र ठूला लगानीमा नगरपालिकाले बैंक ज्ञारेन्टी बसिदिने गरेकाले पनि लगानी आकर्षित भएको हो । बीमाको काम पनि नगरपालिका आफैले गरिदिने गरेको छ ।

नगरपालिकाले ‘वान कलर वान प्रोडक्ट’ अन्तर्गत एउटा गाउँमा एउटै कलर लगाएर एउटा गाउँबाट एउटै वस्तु उत्पादन गर्ने अवधारणा अधि बढाएको छ । त्यसबाहेक नगरपालिकाबाट उत्पादित फोहरलाई व्यवस्थापन समितिहरु बनाएर जैविक मल बनाउँदै आम्दानी गर्नेदेखि खेलकुदको विकासको लागि पनि काम गरेको छ ।

केन्द्र र प्रदेशले कर बढाए त्यसमा नगरपालिकाले अनुदान दिएर भए पनि बढि कर नगरवासीलाई नतिराउने नीति वालिङ नगरपालिकाले लिएको छ । केन्द्रले धेरै अनुदान दिँदा स्थानीय तह धेरै परनिर्भर हुने भएकाले सकेसम्म स्थानीय साधन स्रोत जुटाएरै नगरपालिकोको विकास गर्ने सोच खाँडले अघि सारेका छन ।

Advertisement

Advertisement

Advertisement