नेपाली अटल विहारीको खोजी

1-atal-bihari-vajpayee
diwakar-panta
लेखक

दुइ परस्पर विपरित जस्ता लाग्ने शब्दको संयोजनबाट एउटा नाम बनेको छ र त्यो अत्यन्त लोकप्रिय पनि रह्यो भारतीय समाजमा । त्यो हो– अटल विहारी बाजपेयी । यिनै बाजपेयीलाई भारतका लोकप्रिय र जिम्मेवार शैलीको कार्यप्रणाली भएका पत्रकार रजत शर्माले आफनो प्रख्यात शो “आपकी अदालत”मा आफनो मधुर शैलीमा सोध्छन् – तपाईं अटल र विहारी, यस्तो शैली एउटै व्यक्तित्वमा भूमिका खेल्न कसरी सम्भव हुन्छ ? आपकी अदालतमा सहभागी भएका दर्शक गलल्ल हास्छन् । अटलविहारीले सहज जवाफ फर्काउँछन– जुन समयमा जस्तो आवश्यकता पर्छ त्यस्तै हुन्छु, अटल चाहिएमा अटल र विहारी चाहिएमा विहारी । अटल विहारी मुसुक्क मुस्कुराउँछन् ।

आजको भारतीय जनता पार्टीको स्टक्चर खडा गर्न हात्तिपाईले खडा गर्ने टिममध्येका एक सदस्य हुन अटलविहारी । भारतीय सत्तामा गान्धी परिवार र नेहरु परिवारको एकछत्र निर्विकल्प राजलाई टुटाएर सर्वसाधारण जनताको छोरोले भारतको कमाण्ड हाक्ने भूमिका निर्वाह गर्ने व्यक्तित्वका रुपमा यिनी परिचित रहे । वेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएको दश वर्षपछि सन १९५७ मा भारतीय संसद लोकसभामा भारतीय जनसंघको जम्मा चार सदस्य मात्र सांसद थिए । तत्कालिन भारतीय प्रधानमन्त्री एस राधाकृष्णनसमक्ष भारतीय जनसंघका सांसदको परिचय गराउँदा उनले हेरानी व्यक्त गर्दै आफूले भारतीय जनसंघ नामको पार्टीबारे केही थाहा नपाएको प्रतिक्रिया दिएका थिए । ती चार जना सांसदमध्ये एक थिए अटलविहारी बाजपेयी ।

तिनै वाजपेयीसहितको अथक प्रयासबाट स्थापना भएको भारतीय जनसंघ आजको भारतीय जनता पार्टीका रुपमा परिणत भएको हो । र, इतिहासको पानामा कंग्रेस आई जस्तो भारत स्वतन्त्रतापछि भारतीय सत्तामा निरन्तर राज गरेको दललाई प्रतिपक्षको हैसियत पाउन पनि हम्मेहम्मे पर्ने गरि घचेटिदिने ताकत राख्ने दलका रुपमा भारतीय जनता पार्टी जस्तो सशक्त भूमिका खेल्ने दल बनाउन वाजपेयीले अथक योगदान पुर्याए । भारतीय जनसंघको साधारण सदस्यदेखि प्रधानमन्त्रीसम्मको यात्रा वाजपेयीको असाधारण यात्रा छ । त्यसमाथि अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी जस्तो काविल नेतृत्व तयार गर्न वाजपेयीको ठूलो भूमिका पनि छ ।

पूर्वीय दर्शनप्रति अटल विश्वास
वेलायतीले भारतीय संस्कृतिको मुल–मुल तत्वमाथि प्रहार र क्षतविक्षत मात्र पारेन, भारतीयको मनोवललाई नराम्रोसँग प्रहार गर्यो । खासगरी भारतीय संस्कृति, धर्म, विश्वास र समग्रमा वैदिक संस्कृतिप्रति गौरव राख्ने भारतीय समाजलाई आफ्नै संस्कृतिप्रति ग्लानी गर्ने र दुईचार अंग्रेजी शब्द बोल्ने गतिविधीलाई सभ्य मान्ने लघुताभाषमा बदल्न वेलायतीहरु सफल रहे । आफ्नो रगत रगतमा रहेको हिन्दीलाई बोल्न नजाने जस्तो गरेर अंग्रेजी भाषा बोल्न जान्नु सभ्य हुनु हो भन्ने सोंच भारतीयको दिमागमा घुसाउन वेलायतीले ठूलो अभियान चलाएको पाईन्छ ।

र, यस्तो गतिविधिलाई भारत स्वतन्त्रतापछि पुनः आफ्नो विरासतको लयमा फर्काउनुको साटो सत्ता समीकरण र सत्तामा रहनेसम्मका लागि मात्र सोच्ने भारतीय कांग्रेस आईले कुनै पनि भूमिका खेल्न सकेन । भनिन्छ, जुन देशसँग आफ्नो संस्कृती, जीवनपद्दति र विरासतप्रति गौरव छैन, त्यो राष्ट्रले कुनै प्रगति गर्न सक्दैन । यो मर्म बुझेका वेलायतीले भारतीय नेतृत्व र जनजनमा आफ्नै संस्कृति प्रतिको लघुताभाष हालिदिन सफल भए । वेलायतबाट स्वतन्त्र बनाउन भूमिका खेलेका गान्धी नेहरु परिवारको लोकप्रियताको दबदबाबीच अरु कुनै नयाँ दल तत्काल आईहाल्ने अवस्था पनि थिएन त्यसबेला । दश वर्षपछि जम्मा चार जना सांसद संसदमा पठाएको जनसंघले भारतीय समाजमा कंग्रेस आई प्रतिको मोह तोड्नसक्ने अवस्था पनि थिएन । त्यसैले सामान्य परिवारमा जन्मेर संघर्षका अथक चाङ्ग पार गरेर यात्रारत वाजपेयीहरुलाई निकै मेहनत गर्नु पर्यो । जसको नतिजा सन २०१४ को चुनावमा प्रतिविम्मित हुन पुग्यो ।

भारत वर्षको सभ्यतालाई आत्मसाथ गर्ने र त्यसको मुल तत्वलाई बुझेर राजनीतिक नेतृत्व दिनसक्ने दलको खोजीमा भारतीय समाज थियो । त्यस खोजीमा वाजपेयीले आफूलाई खडा गराए । आफ्नै ऋषिमुनी र विद्धानले प्रादुर्भाव गरि आफ्ना पितापुर्खाले डोर्याएर ल्याएको सभ्याताप्रति घृणा होइन गौरव गरि त्यसैको फ्लेभरमा विकासका आधार खडा गर्न यिनै वाजपेयीले ठूलो भूमिका खेले । उनले भारत वर्षको सभ्याताप्रति सदैव उच्च सम्मान प्रदर्शन मात्र गरेनन्, अबलम्बन पनि गरे ।

देवनागरी लिपिको हिन्दी भाषामा प्रधानमन्त्रीका रुपमा संयुक्त राष्ट्र संघमा भाषण गर्ने यिनै वाजपेयीको अभ्यासको विकसित रुप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योगलाई अन्तर्राष्ट्रिय मान्यता दिन उही राष्ट्रसंघमा प्रस्ताव राख्ने हैसियतमा पुगेको हो । झर्राे हिन्दीमा भाषण गर्ने यिनै वाजपेयीले आफ्नो भाषणहरुमा बारम्बार संस्कृतका श्लोकहरु पनि प्रयोग गर्नेगर्थे । साहित्य समेत सिर्जना गर्ने वाजपेयीले वैदिक सनातन संस्कृति भारत वर्षको मुल तत्व भएको मर्म बुझेका थिए ।

वाजपेयी र नेपाल
तीन पटकसम्म प्रधानमन्त्री बनेका वाजपेयीको सन १९९९ को तेस्रो कार्यकालमा नेपालमा माओवादी द्धन्द चरम उत्कर्षतर्फ उन्मुख थियो । भारतको संरक्षणमा नेपालका माओवादीका नेताहरु प्रचण्ड–बाबुराम लगायतका प्रायः सबै शीर्ष नेतृत्व र केन्द्रीय समितिका सबैजसो नेताहरु भारतका विभिन्न शहरमा बस्थे । त्यसबेला भएको २३ वटा केन्द्रीय समितिका बैठक मध्ये २१ वटा बैठक भारतमा नै भएकाले माओवादी द्धन्द भारतीय संरक्षणमा भएको बुझ्न कुनै अप्ठ्यारो छैन ।

यिनै वाजपेयी तेस्रो पटक प्रधानमन्त्री बनेका बेला नेपालमा क्रान्ति गर्न भारतमा बसेका प्रचण्ड र बाबुरामले वाजपेयीलाई पत्र लेखे । जसमा आफूले भारतीय रुचि विपरित कुनै पनि काम नगर्ने र नेपालमा भारतीय कन्सर्नका विषयमा कुनै हानी नपुर्याउने बाचा गरे । माओवादीको यो बाचाबन्धनको पत्रबारे वाजपेयीले कस्तो नीति अपनाए औपचारिक रुपमा खुलासा त भएको छैन, तर वाजपेयीले शान्त छिमेकी देश नेपालमा हिंसा मच्चाउन क्रियाशिल संगठनप्रति सतर्कतापूर्वक नीति अपनाएको भने पाईंदैन ।

खासगरी हिन्दू राष्ट्र नेपाल र नेपाली विश्वमा शान्तिप्रिय र शालिन स्वभावका रुपमा परिचय बनाएको जाति हो । दक्षिण भारतसहित भारतको दिल्ली लगायतका स्थानमा भारतको विहार र युपी जस्ता राज्यका भारतीय नागरिकभन्दा नेपाली नागरिकलाई बढि विश्वास गरिन्छ, माया गरिन्छ । यस्तो शान्त मुलुक नेपाल जुन भारत वर्षको संस्कृति र सभ्यता जोगाउने समाजबाट बनेको थियो । त्यस्तो संवेदनशिल मुलुकभित्र चलिरहेको हिंसात्मक गतिविधिप्रति भारत स्वतन्त्रतापछि संकिर्ण हिसावले अपनाइएको नीतिभन्दा माथि उठेर गर्नुपर्ने व्यवहार गर्न भने यी वाजपेयी चुकेको देखिन्छ ।

खासगरी नेपालमा हिंसा मच्चाई रहेका माओवादीलाई संरक्षण गरि प्रवद्र्धन गर्ने भारतीय गुप्तचर निकाय “र” को नीतिप्रति वाजपेयीले समर्थन जनाउन पुगेको देखिन्छ । “र” ले आफूले लिएको नीतिले भारतको हित संरक्षण गर्ने भन्ने विचारमा वाजपेयी कन्भिन्स हुन पुगेको देखिन्छ । त्यसैले उनले नेपालप्रति अपनाउनु पर्ने सदासयतापूर्ण नीति र व्यवहारभन्दा कंग्रेस आईले अपनाइरहेको नीतिलाई नै निरन्तरता दिन पुगेको देखिन्छ । जसको फलस्वरुप नेपालले आतंककारी घोषणा गरेका माओवादी भारतमा ज्वाईं जस्तो मेजमनीमा बस्न पाएका थिए ।

चुकेका बाजपेयी
भारत दक्षिण एसियाली क्षेत्रको शक्तिशाली र प्रभावशाली देश भएको घाम जस्तै छर्लङ्ग छ । साथै, अहिले भारतीय प्रधानमन्त्रीको नेतृत्वमा विश्वको प्रभावशाली देश बन्ने दौडमा दौडिरहेको छ । यस क्षेत्रको भारत, नेपाल, भुटान जस्ता देशका साझा संस्कृति र हाँगाविगा पछ्याउँदै गएमा पुगिने गन्तब्य एउटै भएको यथार्थ हो । तर, यो सत्यता र आफ्नो दायित्वप्रति भारतीय नेतृत्व सदैव उदासिन रहने गरेको देखिन्छ ।

यो तितो यथार्थप्रति वाजपेयी पनि चुकेको देखिन्छ । सायद उनी जस्ता वरिष्ठ नेतृत्वले आफ्नो दलको नेपालप्रति विकास गर्नुपर्ने विशेष दृष्टिकोण निर्माण गर्न चुकिदिंदा उनीपछिका नेतृत्वमा पनि कमजोरी देखापरेको हुन पनि सक्छ । होईन भने विश्वकै सर्वाधिक पूरानो धार्मिक, सांस्कृतिक मूल्य मान्यता क्षणभरमा टुक्रा टुक्रा पार्न निर्णय भईरहँदा भारतले कुनै न कुनै भूमिका खेल्दो हो । आफ्नो देशमा औपचारिक र कानूनीरुपमा स्थापना गर्न नसकेको तर छिमेकी देश नेपालमा अटुटरुपमा स्थापित सत्य धुजाधुजा हुनबाट जोगाउन उसले भूमिका खेल्दो हो ।

नेपाल र भारतका धार्मिक आध्यात्मिक मुल मेरुदण्ड एउटै हुन । नेपालीले र भारतीयले पूजा गर्ने देवी सरस्वती, लक्ष्मी, हनुमान, रामसीता आदी सबै एउटै हुन । यसरी एउटै देवीदेउता पूजा गर्ने साझा संस्कृति र अभ्यासको मुल मर्म नेपालमा जोगाउन भारतीय सत्तापक्षले उदासिनता देखाएको देखिन्छ । यस मामिलामा वैदिक संस्कृतिलाई माया गर्ने वाजपेयी पनि चुकेको देखिन्छ ।

इजरायल र भारत
यहुदीलाई सबैतिरबाट असजिलो परेपछि तत्कालिन यहुदी योजनाकारहरुद्धारा इजरायल देश स्थापना भएको इतिहास छ । र अरव राष्ट्रको बीचमा सानो क्षेत्रफल र प्राकृतिक स्रोत साधनको अभावमा पनि इजरायलीहरुको अथक प्रयासले बलियो देशका रुपमा इजरायल खडा भएर रहेको छ । हो, यही इजरायलले संसारभर जहाँ रहेका भए पनि यहुदीहरुलाई आफ्नो देशमा आएर जुनसुकै बेला पनि बस्न छुट दिएको छ । इजरायलले इथियोपियामा संकटमा परेका यहुदीलाई इजरायल ल्याएको थियो, जुन “अपरेशन सोलुमन” नामले परिचित छ ।

हो, वैदिक सांस्कृतिक सभ्यताको केन्द्र भारत र नेपाल हो । तसर्थ, यस संस्कृतिको संरक्षण र प्रवद्र्धनमा भारतले खेल्नुपर्ने विशेष दायित्व उ माथि छ । खासगरी नेपाल जस्ता देशमा पवित्ररुपमा रहेको सांस्कृतिक सम्पदाप्रति गौरव गर्न र अप्रत्यक्ष रुपमा संरक्षण गर्न भारतले भूमिका खेल्नुपर्ने हो । तर भारतीय राजनीतिको सोच कता कता उपनिवेश कालको भारतीय नीति निर्माताको झै नेपाललाई हेर्न सीमित रहेको हो कि ? भन्ने आभाष हुन्छ । तसर्थ जसरी इजरायलले यहुदीको रक्षाका लागि विशाल छाति बनाएको छ, भारतीय अर्थात हिन्दूस्तानले पनि विशाल हृदय बनाउनुपर्ने हो । तर, व्यवहारमा त्यसो हुन सकेको छैन । नेपालका सभ्यता एकपछि अर्काे गर्दै क्षतविक्षत हुँदा कुनै पनि भारतीय यानेकी कुनै पनि हिन्दुस्तानी खुशी हुन सक्दैन । नेपालमा पनि अटलविहारी वाजपेयी जस्तै दृढ सोच र आफ्नोपनप्रति गौरव राख्नसक्ने नेतृत्वको खाँचो जताततै हुन थालेको महशुस हुन्छ ।

भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीप्रति समग्र नेपाली आध्यात्मिक, धार्मिक जगतका तर्फबाट हार्दिक हार्दिक श्रद्धाञ्जली ।

(पन्त, नेपाल ज्योतिष परिषद्का पार्षद एवं दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुन् सम्पर्क नं. ९८४१५२७५१०)