किसानसँग १८ देखि ३५ रुपियाँमा किनेको काउली कालिमाटीमै ११०

Advertisement

काठमाडौं । कालिमाटी तरकारी बजारमा सोमबार दिनभर तनाव भयो । व्यापारीले चरम कालोबजारी गरेको सूचना पाएपछि मिर्मिरेमै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी बजार अनुगमनमा पुगे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ठाडो निर्देशनमै अनुमगमन टोली पुगेको थियो । तर, विभागका अधिकृत दीपकराज पोखरेल नेतृत्वको उपभोक्ता अधिकारकर्मीको टोलीलाई अनुगमन सहज भएन ।

अनुगमन समितिले कालिमाटीमा तरकारी ल्याइने मुख्य जिल्लाका किसानको खेतमै पुगेर अनुगमन गरेको थियो । धादिङ, मकवानपुर, ललितपुरलगायत जिल्लाका किसानले खेतबाट बेच्ने तरकारीको मूल्य र कालिमाटी बजारमा उही तरकारीको मूल्यमा व्यापक अन्तर भेटिएको छ ।

‘कृषकको खेतबाट १८ रुपियाँदेखि ३५ रुपियाँसम्ममा काउली बेचिएको पाइयो,’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकृत दीपकराज पोखरेलले भने, ‘त्यही तरकारी कालिमाटी बजारमा आइपुगेपछि १ सय १० रुपियाँ प्रतिकिलोसम्म बेचिएको पाइएको छ ।’

किसानको खेतदेखि तरकारी बजारसम्म आइपुग्दा तरकारीको मूल्य चारगुणासम्म बढेको पाइएको अनुगमन टोलीमा सहभागी उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए ।

‘तरकारी व्यापारका बिचौलियाको धेरैवटा तह पाइएको छ,’ उनले भने, ‘यसले गर्दा तरकारी उत्पादक किसान र उपभोक्ता दुवै ठगिने तथा बिचौलियाले मात्र अनुचित लाभ कमाउने अवस्था देखिएको छ ।’

आजको नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement