गैरआवासीय नेपाली संघको बैठक यही अगष्ट २३ देखि २५ सम्म दुबईमा

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघले ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ वैदेशिक रोजगारी सम्बन्धि विषयहरुलाई आफ्नो कार्य प्राथमिकतामा राख्दै बैठकको आयोजना गर्ने भएको छ ।

संघले वैदेशिक रोजगारीका समस्याहरु र त्यसको समाधानका लागि पहल गर्ने उद्देश्यका साथ यहि अगष्ट २३ देखि २५ सम्म यूएईको दुबईमा उक्त बैठकको आयोजना गर्ने भएको हो ।

मर्यादित र सम्मानित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीका क्रममा वा व्यवसाय सञ्चालनका लागि मध्यपूर्वका देशमा रहेका नेपालीहरुले भोग्नुपरेको समस्या पहिचान गरी नेपाल सरकारको ध्यानाकर्षण गराउन यस बैठकको आयोजना गर्न लागिएको संघले जनाएको छ ।

बीस लाख भन्दा बढी नेपालीहरू श्रमिकका रुपमा यस क्षेत्रमा कार्यरत छन् । संख्यात्मक रुपमा सबै भन्दा धेरै नेपाली कार्यरत रहेका यस क्षेत्रका नेपालीहरुको समस्याहरु सम्बोधन गर्नु यस सम्मेलनको प्रमुख उदेश्य रहेको संघले जनाएको छ ।

नेपालमा भित्रने कुल रेमिट्यान्सको करीब ६० प्रतिशत मध्यपूर्वबाट नै आउँछ । तर त्यो क्षेत्रमा कार्यरत गैरआवासीय नेपालीहरु विभिन्न अप्ठ्यारोमा पर्दा सहज सहयोग पाउने वातावरण बन्न सकेको छैन ।

मध्यपूर्वमा कार्यरत नेपालीहरु माझ स्थानिय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभाव लगायत विविध कारणले जेलजीवन बिताइरहेका नेपालीहरूको पीडा एकातिर छ भने अर्कोतर्फ काम गर्ने क्रममा गम्भिर दुर्घटनामा परी अंगभंग भएकाहरुको समस्या पनि बढि रहेको छ ।

यी सबै पक्षमा बैठकले गम्भीरतापूर्वक छलफल गर्नेछ र त्यस्ता समस्या निराकरणका लागि सुझाव प्रस्ताव गर्ने संघले जनाएको छ ।

बैठकमा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको जनचेतना वृद्धिका निम्ति गर्नुपर्ने कार्यहरु, विदेशमा सिकेका ज्ञान तथा सीप मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयहरुमा छलफल हुने भएको छ ।

वैदेशिक रोजगारीमा जाने क्रममा हुने ठगी नियन्त्रण, फ्रि–टिकट तथा भिषाको कार्यान्वयन, अंगभंग भएका र मृत्यु भएकाको परिवारलाई सरकारले दिनुपर्ने सुविधा लगायतका विषयमा समेत बैठकमा छलफल हुने संघले जनाएको छ ।

यस्तै विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, अनलाइन प्रणालीमार्फत विभिन्न निकायहरुलार्ई जोडी कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाहरुको लागि सञ्चयकोष जस्ता विषयमा बैठकले ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।

बैठकका निष्कर्षहरुलाई सरकार लगायत सम्बन्धित निकायहरु समक्ष पुर्याइने संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघको यस बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement