ज्यालादारी मजदुरका लागि अघिल्लो वर्ष खराब, तलवी कर्मचारीका लागि उत्साहजनक

Advertisement

काठमाडौं । गत आर्थिक वर्ष २०७४।७५ मा औसत श्रमजीवीहरुको क्रयशक्तिमा सामन्य सुधार आएकोे छ । समीक्षा वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहँदा वार्षिक औसत राष्ट्रिय तलव तथा ज्यालाको वृद्धिदर ६.८ प्रतिशत भएकाले क्रयशक्तिमा सुधार देखिएको हो ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष क्रयशक्तिमा आएको वृद्धि भने न्युन हो । अघिल्लो वर्ष मुल्यस्तर ४.५ प्रतिशतले बढ्दा ज्याला तथा तलब सूचकाङ्क १४.४ प्रतिशतले वृद्धि भएकोे थियो । क्रयशक्ति बढ्नुले औसतमा श्रमजीवीहरुको जीवनस्तरमा पनि सुधार आएको देखाउँछ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी रिपोर्टअनुसार समीक्षा अवधिमा ज्यालादारी कामदारभन्दा महिनावारी तलब सुबिधा पाउने कर्मचारीहरु बढि लाभान्वित भएका छन् । यस अवधिमा तलब सूचकाङ्कको वृद्धिदर ९.६ प्रतिशत हुँदा ज्यालादर सूचकाङ्कको वृद्धिदर ६.१ प्रतिशत मात्रै रहेको छ ।

ज्यालादारी मजदुर अन्तर्गत पनि कृषि र निर्माण क्षेत्रका मजदुरहरु बढि लाभान्वित भएका छन भने र औद्योगिक क्षेत्रका मजदुरहरुको जीवनस्तर झन खस्केको छ ।

गतवर्ष कृषि र निर्माण मजदुरको ज्यालादर क्रमशः ८.४ प्रतिशत र ८.३ प्रतिशतले बढ्दा औद्योगिक मजदुरको ज्याला भने ०.४ प्रतिशतले मात्र बढेको छ । लैङ्गिक रुपमा हेर्दा पुरुष कमदारको भन्दा महिला कामदारको ज्यालाको वृद्धिदर बढि रहेको छ ।

तलब पाउने सरकारी सेवाका कर्मचारी र संस्थानका कर्मचारीहरुको ज्यालादर स्थीर रहँदा निजी संस्थाहरुमा काम गर्ने कर्मचारीको सुबिधामा भने ३६.३ प्रतिशतले वृद्धि आएको छ । निजी संस्थाहरुमा कार्यरत कर्मचारीहरुमा पनि अधिकृतस्तरका कर्मचारीको तलब सुबिधा १५.५ प्रतिशतले बढ्दा गैरअधिकृतहरुको भने ४६.४ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरि शैक्षिक संस्थाका कर्मचारी र बैंक तथा वित्तिय संस्थाका कर्मचारीको तलब सुविधामा क्रमशः ५.८ र १.३ प्रतिशतले वृद्धि आएको छ ।

Advertisement

Advertisement

Advertisement