बालिका बलात्कार घट्नाविरुद्धको प्रदर्शनले उग्ररुप लिएपछि प्रजिअसहित प्रहरी अधिकारी तानिए

kanchanpur_protest_against_child_rape_case

कञ्चनपुर । बालिका बलात्कारका दोषीलाई कारवाहीको माग गर्दै स्थानीय जनताले गरेको विरोध प्रदर्शनमा गोली चलाइएपछि गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित तीन सुरक्षा अधिकृतलाई मन्त्रालयमा तानेको छ ।

गत साउन १० गते १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना अनुुसन्धान चलखेल गरी दोषीलाई चोख्याउन खोजिएको भन्दै स्थानीयले आन्दोलन चर्काएका छन् । बिहीबार भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तिमा सात जना घाइते भएका थिए ।

nic-asia

बालिका बलात्कारको विरोधमा उत्रिएका जनतामाथि गोली चलाएको भन्दै चौतर्फी आलोचना भएपछि गृह मन्त्रालयले आन्दोलन मन्थर पार्न प्रजिअ कुमार खड्का, प्रहरी उपरीक्षक डिल्लीराज विस्ट र प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेट्टीलाई काठमाडौं फिर्ता बोलाइएको हो ।

प्रहरी प्रधान कार्यालयले बुधबार मात्रै प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दलाई कञ्चनपुरमा खटाइसकेको छ। चन्द कञ्चनपुर पुगेलगत्तै सुरक्षानिकायका तीनै अधिकारीलाई मन्त्रालय तानिएको हो ।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले मानसिक सन्तुलन गुमाएका ४१ वर्षीय दिलीपसिंह विस्टलाई पक्राउ गरेर दोषी देखाउने प्रयास गरेपछि स्थानीय जनता आन्दोलित भएका हुन ।

वास्तविक अपराधी लुकाउने र मानसिक सन्तुलन ठीक नभएको मानिसलाई पक्राउ गरी घटना ढाकछोप गर्न खोजेको स्थानीयको भनाई छ । प्रदर्शन उग्र भएपछि प्रशासनले भीमदत्त नगरपालिका क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।

kanchanpur_protest_against_child_rape_case_1

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई लिएर आन्दोलन चर्किएपछि यस घट्नाको छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति बनाएको छ । कञ्चनपुर क्षेत्र नम्बर ३ का सांसद दीपक प्रकाश भट्टका अनुसार छानबिन समितिले भोलिबाटै आफ्नो काम थाल्ने भएको छ ।

बलात्कारपछि बालिका निर्मलाको हत्याको घटना र त्यसपछि उत्पन्न परिस्थितिबारे छानबिन गर्न सरकारले गृहमन्त्रालयका सहसचिव हरि मैनालीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।