अष्ट्रेलियामा सत्ताधारीले आफ्नै सरकार ढालेर स्कट मरिसनलाई प्रधानमन्त्री बनाए

Advertisement

सिड्नी । सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिएका छन् ।

विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उनले पदभार ग्रहण गर्न लागेका हुन । औसतमा सुधारवादी ठानिएका म्याल्कम टर्नबुललाई उनकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन् ।

पूर्व गृहमन्त्री एवं सत्तारुढ लिबरल पार्टीभित्र दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने पिटर डटनका कारण टर्नबुलको पद गुमेको हो । डटनले टर्नबुलका सुधारवादी कदमहरुको विरोध गर्दै आएका थिए ।

अस्ट्रेलियाको राजधानी सहर क्यानबेरामा भएको पार्टी संसदीय दलको निर्वाचनमा अर्थमन्त्रीको भूमिकामा रहेका मरिसनले टर्नबुललाई ४५–४० मतान्तरले पराजित गरेका थिए । यस चुनावमा टर्नबुलका सहयोगी विदेश मन्त्री जुली बिशप पनि चुनावी मैदानमा थिइन । तर, उनी पहिलो चरणमै पराजित भएकी थिइन ।

“मेरो सम्पूर्ण सहयोग स्कट मरिसनलाई हुनेछ,” प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै डटनले भने । तर टर्नबुलले भने साथीहरुबाट आफूमाथि धोखाधडी भएको र पिठ्युँमा छुरा हानिएको प्रतिक्रिया दिए ।

तीन वर्षदेखि सत्ताको बागडोर सम्हाल्दै आएका टर्नबुलमाथि पार्टीभित्र पहिलो सङ्कट गत मङ्गलबार नै आइपरेको थियो । तर त्यसबखत उनी अविश्वासको प्रस्ताव पारित हुनबाट जोगिएका थिए । तर, रहस्यमय तरिकाबाट मन्त्रिपरिषद्बाट केही मन्त्रीहरुले एकपछि अर्को गर्दै राजीनामा दिए र सरकारमाथि नै सङ्कट आइलाग्यो ।

राजनीतिबाट अवकाश लिएसँगै टर्नबुलको सिड्नी संसदीय क्षेत्रमा उपचुनाव हुनेछ । टर्नबुलले अब गभर्नर–जनरल समक्ष सत्तारुढ दलभित्रको घटनाक्रमबारे जानकारी गराउनेछन् र गभर्नरले नयाँ सरकार गठन गर्नका लागि आह्वान गर्नेछन् ।

पूर्व आप्रवासन मन्त्रीको कार्यभार समेत सम्हालेका मरिसन आप्रवासी नीति कडा बनाउनुपर्ने पक्षधर नेता हुन ।

Advertisement

Advertisement

Advertisement