कञ्चनपुरको आन्दोलन झन चर्कियो, प्रहरीको गोलीले एक जनाको ज्यान गयो

Advertisement

कञ्चनपुर । स्थानीय बालिकाको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई उन्मुक्ति दिने प्रयास गरिएको भन्दै कञ्चनपुरवासीले सुरु गरेको आन्दोलन दिनप्रतिदिन झन उग्र हुँदै गएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई दमन गरेको भन्दै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित प्रहरीका अधिकृतहरुलाई फिर्ता बोलाएर नयाँ पठाएलगत्तै प्रहरीको गोली लागेर एक बालकको मृत्यु नै भएको छ ।

दिउसोसम्म शान्त जस्तो रहेको महेन्द्रनगर बजारमा अपरान्हपछि एक्कासी आन्दोलन चर्किँदाको थियो । प्रदर्शनकारीलाई लक्षित गरेर प्रहरीले हानेको गोलीले एक १४ बर्षीय बालकको मृत्यु भएको छ । पेटमा गोली लागेका किशोर सन्नी खुनाको अस्पताल लगिएपछि मृत्यु भएको हो ।

मृत्यु भएका बालकको शवलाई प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि लगेर राखिदिएका छन् । बिहीबार भएको प्रदर्शन उग्र हुँदा प्रहरीले चलाएको गोली लागेर छ जना प्रदर्शनकारी घाइते भएका थिए । त्यसपछि सरकारले कञ्चनपुरका प्रजिअ, एसपी र डीएसपीलाई फिर्ता बोलाउनुका साथै स्थानीय प्रशासनले कफ्युसमेत लगाएको थियो ।

आन्दोलन मन्थर पार्न पठाइएको नयाँ प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र एसपी कुबेर कडायत पुगेलगत्तै प्रहरीको गोलीबाट एक जनाको मृत्यु नै भएको हो । प्रहरीको गोली लागेर अर्का युवक चेतन भट्ट घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । यो घटनामा कम्तिमा पनि १७ जना घाइते भएका छन् ।

यसैबीच प्रदर्शनकारीले भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घर पनि तोडफोड गरेका छन् । प्रदर्शनले हिंसात्मक रुप लिएपछि मेयरको घरमा आगोसमेत लगाउन खोजिएको थियो । तर तत्कालै प्रहरी पुगेपछि घरमा आगो लाग्नबाट जोगिएको छ ।

प्रदर्शनकारीहरुले भीमदत्त नगरपालिकास्थित जिल्ला ट्राफिक कार्यालयमा तोडफोड गरेका छन् भने भीमदत्त नगरपालिकाको कार्यालयमा पनि तोडफोड भएको छ । प्रदर्शनकारीले ढुंगामुडा गरेर अवस्था नियन्त्रण बाहिर जान लागेपछि गोली चलाएको प्रहरीको दावी छ ।

स्थानीय प्रशासनले आन्दोलनमा घुसपैठ भएको भन्दै यसलाई दमन गर्ने उपाय खोजेको छ । सरकारले बालिका बलात्कारको घटना छानविन गर्न भन्दै आयोगसमेत बनाएको छ ।

Advertisement

Advertisement

Advertisement