बिमस्टेक सम्मेलनको तयारी पूराः सरकार, यस्ता छन् कार्यक्रम

Advertisement

काठमाडौँ । नेपालमा हुन लागेको चौथो बिमस्टेक सम्मेलनको तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सात मुलुकका सरकार प्रमुखहरु सहभागी हुने यस सम्मेलनको उदघाटन भदौ १४ गते प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्नेछन् ।

सम्मेलनमा काठमाडौ घोषणापत्र जारी गर्न समावेश गरिने विषयलाई अन्तिमरुप दिइएको परारष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जनाए । चौथो सम्मेलनमा कनेक्टिभीटीका साथै गरिबी निवारण, अन्तरक्षेत्रीय व्यापार, लगानी, जलवायु, सुरक्षा जस्ता विषय प्राथमिकतामा छन् ।

उनका अनुसार सम्मेलनमा उपस्थित हुन निमन्त्रणा, स्वागत र बसोबास स्थल, सम्मेलनस्थल र भेटघाटको समय पनि टुङ्गो लागिसकेको छ । सम्मेलनमा बंगलादेशको प्रधानमन्त्री शेख हसिना, भुटानबाट योङको छेङ वाङछो (चिफ जस्टिक), भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्राध्यक्ष विन मायन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला श्रीसेना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान ओ–चा र नेपालका प्रधानमन्त्री केपी ओलीको सहभागीता रहनेछ ।

सुरुमा भदौ १२ गते म्यानमारका प्रधानमन्त्री आउने र १३ गते म्यानमारसँग दुईपक्षीय भेटवार्ताको कार्यक्रम छ । भदौ १३ गते भुटान र श्रीलंकाका र १४ गते बिहान बाँकी तीन देशका नेता आउने छन् ।

भदौ १४ गते बिहान सम्मेलन सुरु भएपछि साँझ पाहुनाहरुको स्वागतमा रात्रीभोजको कार्यक्रम तय गरिएको छ । त्यस्तै, १५ गते विहान गोकर्ण रिसोर्टमा रिट्रिटको कार्यक्रम र केही दस्तावेजमा हस्ताक्षरको कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

भदौ १५ गते नै भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीबीच द्धिपक्षीय भेटघाटको कार्यक्रम पनि छ । वार्ताका क्रममा रक्सौल–काठमाडौं रेल्वे र बल्क कार्गोसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने, पशुपतिमा निर्माण भएको धर्मशालाको उदघाटन र हस्तान्तरणलगायतका कार्यक्रम रहेको मन्त्री ज्ञवालीले जानकारी दिएका छन् । सोही दिन अधिकांश सरकार प्रमुख तथा प्रतिनिधिहरु स्वदेश फर्किनेछन् ।

श्रीलंका र म्यानमारका राष्ट्रपतिले लुम्बिनीको पनि भ्रमण गर्ने भएकाले भदौ १६ गते मात्रै फर्कने छन् । सन् १९९७ मा स्थापना भएको बिमस्टेकको पहिलो सम्मेलन थाइल्याण्डमा सन २००४ मा, दोस्रो सन २००८ मा भारतमा, तेस्रो सन २०१४ मा म्यानमारमा भएको थियो ।

Advertisement

Advertisement

Advertisement