पर्यटकीय क्षेत्र विस्तारका लागि सातवटै प्रदेशमा नयाँ गन्तव्यको छनोट

Advertisement

काठमाडौं । सरकारले सीमित क्षेत्रमा केन्द्रिकृत भएको पर्यटन गतिविधिलाई विस्तार गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्नेगरी नमूना पर्यटन गन्तव्य पहिचान गरी पर्यटन विकास क्षेत्र निर्माणको गुरुयोजना तयार गरेको हो । पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको प्रगति प्रतिवेदनअनुसार प्रदेश नं १ मा इलामको सन्दकपुर, प्रदेश नं २ मा धनुषाको धनुषाधाम, प्रदेश नं ३ मा मकवानपुरको कुलेखानी (इन्द्रसरोवर), गण्डकी प्रदेशमा कास्कीको पञ्चासे, प्रदेश नं ५ मा कपिलवस्तुको निग्लिहवा, कर्णाली प्रदेशमा मुगुको रारा र प्रदेश नं ७ मा कैलालीको भादालार्इ पर्यटकीय गन्तव्यको रूपमा विकास गरिनेछ ।

सरकारको चालु आवको बजेट र नीति तथा कार्यक्रममा परेको सो योजना कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको पर्यटन मन्त्रालयको योजना महाशाखाका प्रमुख सहसचिव नीता पोखरेलले बताए । उहाँले नमूना पर्यटकीय गन्तव्य विकास गर्न स्थान छनोट भई आवश्यक कार्यान्वयनका लागि पर्यटन विभागलाई जिम्मेवारी दिइएको जानकारी दिए ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले नमूना पर्यटकीय गन्तव्य विकासका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताए । ‘सात प्रदेशमा पर्यटकीय गन्तव्य निर्माणका लागि गुरुयोजना बनिसकेको छ, अब टेण्डर प्रक्रिया अघि बढाउँछौँ । कुन गन्तव्यका लागि कति बजेट चाहिन्छ आवश्यक गृहकार्य गरी मन्त्रालयलाई पठाउँछौँ,’ उनले भने । नमूना गन्तव्यका लागि रु पाँच करोड विनियोजन गरिएको छ । यो पुरानो योजनाअनुसारको रकम भएको र पर्यटकीय गन्तव्यको विस्तृत विकासका लागि थप रकम विनियोजन हुनेछ ।

सय गन्तव्य काम अघि बढ्दै

सरकारले देशका ७७ जिल्लामा पर्ने नयाँ १०० पर्यटकीय गन्तव्यस्थल विकास गर्न बजेट विनियोजन गरी ठाउँ सिफारिशका लागि सार्वजनिक सूचना आह्वान गरिसकेको छ । हरेक प्रदेशमा कम्तिमा १० ठाउँलाई समेट्ने गरी पर्यटकीय गन्तव्य विकास गर्ने योजना छ । उक्त कार्यका लागि मन्त्रालयले चालु आवमा रु ५० करोड विनियोजन गरेको छ ।

सय गन्तव्यस्थल विकासको काम छिट्टै अघि बढाइने मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो । बजेट तथा नीति कार्यक्रममा प्राथमिकतामा रहेको उक्त योजना कार्यान्वयनका लागि मातहतका निकायले प्रदेश सरकारसँग समन्वय गरी काम अघि बढाउनुपर्नेछ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जिम्मेवारी सम्हालेदेखि नयाँ पर्यटकीय गन्तव्य विकासको कार्यलाई आफ्नो प्रमुख कार्यभारको सूचीमा उल्लेख गरेका छन् । त्यसअनुरुप गन्तव्य विकासको आवश्यक प्रक्रिया अघि बढाइएको हो ।

Advertisement

Advertisement

Advertisement