केही दिनमै चिनियाँ रेलको संभाव्यता अध्ययन पूरा भई डीपीआर सुरु हुने

Advertisement

काठमाडौं । सिगात्से–केरुङ–रसुवागढी–काठमाडौं रेल सेवाको प्रारम्भिक संभाव्यता अध्ययन गरिरहेको चिनियाँ कम्पनीले केही दिनभित्र संभाव्यता अध्ययन प्रतिवेदन तयार गरी बुझाउने जनाएको छ ।

नेपाल – चीन सीमापार रेल आयोजनाको पूर्वसंभाव्यता अध्ययन प्रतिवेदनको नेपाली र चिनियाँ अधिकारीहरुबीच भएको छलफलका क्रममा संभाव्यता अध्ययन गरिरहेको चिनियाँ कम्पनी फष्ट सर्वे एण्ड डिजाइन इन्ष्टिच्युटका प्रतिनिधिहरुले केही दिनभित्र प्रतिवेदनलाई अन्तिम रुप दिएर बुझाउने बताएका हुन ।

यही अगष्ट १९ देखि २२ तारिखसम्म चीनको सियान सहरमा आयोजनाको बैठक भएको थियो । बैठकमा नेपालबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा विभिन्न निकायका प्रतिनिधिहरु र चिनियाँ पक्षबाट राष्ट्रिय रेल प्रशासनका उपप्रशासक जेङ जिनको नेतृत्वमा अन्य प्रतिनिधिहरु सहभागी थिए ।

बैठकमा परामर्शदाता कम्पनी फष्ट सर्वेले आफूहरुले गरेको अध्ययन प्रस्तुत गरेको थियो । रेल यातायात क्षेत्र, विद्युत क्षेत्र, रेल निर्माण कम्पनी, डिजाइन कन्सल्ट्यान्ट क्षेत्रका विज्ञहरु सहभागी बैठकले प्रारम्भिक अध्ययन प्रतिवेदनमा भएका विषयहरुमा आआफ्नो धारणा राखेका थिए ।

नेपालको सीमा रसुवागढीदेखि काठमाडौंसम्म करिव ७२ किलोमिटर हुने यस रेलमार्ग अधिकांश भाग सुरुङ र केही अग्ला पुलहरु हुँदै काठमाडौंको टोखा अन्तिम स्टेशन हुनेछ । संभाव्यता अध्ययन बुझाएपछि दुवै सरकारको सहमतिमा विस्तृत संभाव्यता अध्ययन (डीपीआर) सुरु हुने मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement