विज्ञको ओलीलाई सुझाव– बिमस्टेको १४ वटा कार्यक्षेत्र धेरै भयो, घटाउनुपर्यो

Advertisement

काठमाडौं । बिमस्टेकको आगामी चौथो शिखर सम्मेलनमा प्राथमिकता निर्धारण गर्नुपर्ने कार्य क्षेत्रका बारेमा प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिइएको छ ।

कूटनीति, विदेश मामिला र आर्थिक क्षेत्रमा कार्यरत नेपाल, भारत र बङ्गलादेशका संस्थामा आबद्ध केही व्यक्तिले आइतबार साँझ प्रधानमन्त्री ओलीलाई उनको निवास बालुवाटारमा भेटी बिमस्टेकको कार्य क्षेत्रका बारेमा सुझाव दिएका हुन ।

बिमस्टेकको आगामी शिखर सम्मेलनका एजेण्डा के हुनुपर्छ ? भन्ने बारेमा यही अगष्ट २–३ मा रणनीतिक तथा सामाजिक, आर्थिक अध्ययन प्रतिष्ठान, विकासशील राष्ट्रका लागि अनुुसन्धान र सूचना प्रणाली, भारत नीति संवाद केन्द्र, बङ्गलादेशका ‘थिङ्ट्याङ्क’ हरुद्वारा आयोजित बिमस्टेकको पूर्वपरामर्श बैठकमा पारित सुझाव ओलीलाई बुझाइएको हो ।

रणनीतिक तथा सामाजिक, आर्थिक अध्ययन प्रतिष्ठान, नेपालका कार्यवाहक अध्यक्ष गोविन्द नेपालले दिएको जानकारीअनुसार सो बैठकले बिमस्टेकको सफलताका लागि आगामी शिखर सम्मेलनले निर्धारण गर्नुपर्ने कार्यक्षेत्रका बारेमा सुझाव दिएको थियो । हाल बिमस्टेकका हाल १४ वटा कार्य क्षेत्र रहेकामा तिनलाई घटाएर थोरै प्राथमिकताका क्षेत्रमा सीमित गर्नुपर्ने र यसो गर्न सकिएमा ती क्षेत्रमा ठोसरुपमा काम गर्न सकिने सुझाव दिइएको छ ।

उनका अनुसार सडक सञ्जाल ‘कनेक्टिभिटी’, व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन, जनता जनताबीचको सम्पर्क, जलवायु परिवर्तन र बिम्स्टेकको सचिवालयको सबलीकरण विषयमा प्राथमिकता निर्धारण गरी काम गर्नेगरी कार्य क्षेत्र बनाउन प्रधानमन्त्रीलाई सुझाव दिइएको थियो ।

बिमस्टेकमा पर्वतीय र सामुन्द्रिक देश रहेकाले जलवायु परिवर्तनका कारण पहाड र समुद्रमा पार्ने प्रभावका बारेमा यस सङ्गठनले काम गर्नुपर्ने भन्दै आगामी शिखर सम्मेलनमा यस क्षेत्रलाई पनि प्राथमिकतामा राख्न पनि सुझाइएको छ ।

यी सुझाव सान्दर्भिक रहेकाले आगामी शिखर सम्मेलनमा आफूले राख्ने आश्वासन प्रधानमन्त्री ओलीले दिएको जानकारी नेपालले दिए । बिम्स्टेककोे चौथो शिखर सम्मेलन आगामी बिहीबार र शुक्रबार काठमाडौँमा आयोजना हुँदैछ ।

Advertisement

Advertisement

Advertisement