राष्ट्र बैंकले वित्तीय संस्थाहरुमा डेढ अर्ब लगानी गर्नका लागि प्रस्ताव माग्यो

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ । बैंकले सस्तो व्याजदरमा एक अर्ब ५४ करोड १५ लाख रुपियाँ लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले ‘क’ वर्गका बैंकहरुका लागि एक अर्ब २३ करोड ३३ लाख रुपियाँ, ‘ख’ वर्गका बैंकहरुका लागि २३ करोड ११ लाख रुपियाँ र ‘ग’ वर्गका वित्तीय संस्थाहरुका लागि सात करोड रुपियाँ लगानी गर्ने जनाएको छ । उक्त रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकसमक्ष शिलबन्दी बोलपत्र बुझाउनु पर्नेछ ।

बैंकले विभिन्न कोषमा भएको आफ्नो जम्मा भएको रकमलाई आगामी असोज १ गतेदेखि २०७६ भदौ ३१ गतेसम्मका लागि तीन सय ६६ दिनको मुद्दती निक्षेपमा त्रैमासीक रुपमा व्याज भुक्तानी हुनेगरी लगानी गर्न लागेको जनाइएको छ ।

बैंकले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदरसमेत खुलाई तोकेको शिलबन्दी दरभाउपत्रसम्बन्धी फाराम भरी आगामी मंगलबार अपरान्ह तीन बजेभीत्र पेश गर्न अनुरोध गरेको छ ।

लगानीका लागि राष्ट्र बैंकले निम्न शर्तहरु तोकेको छ

  • बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पूरा गरेको ।

  • बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको ।

  • निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको ।

  • खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको ।

  • कर्जारस्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको ।

  • निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा (ब्यवस्था पछिको) मा रहेको ।

  • रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको ।

  • लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरीवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको ।

  • शीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको ।

  • बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको । समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको ।

  • सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको ।

Advertisement

Advertisement

Advertisement