संवैधानिक राजतन्त्र काँग्रेसको होइन ब्रिटिसहरुको एजेण्डा होः निधि

Advertisement

काठमाडौं । काँग्रेस नेता विमलेन्द्र निधिले केपी ओली नेतृत्वको सरकार संघीयता सिध्याउन लागिपरेको आरोप लगाएका छन् । उनले संघीयता सिध्याउन खोजेको हो भने त्यसले राजनीतिक अस्थिरता ल्याउने र आर्थिक संवृद्धि पनि अवरुद्ध हुने दावी गरे ।

प्रोफेशनल इन्जिनियर्स नेटवर्कले शनिबार आयोजना गरेको ‘संवृद्धिको यात्रा र गन्तव्यः कहाँ चुक्यौं हामी ?’ विषयक कार्यक्रममा निधिले राजनीतिक र संवृद्धिको यात्रामा सरकार चुकिसकेको भन्दै शान्ति सुरक्षा कायम गर्ने, लगानीमैत्री बाताबरण बनाउनेतर्फ ध्यान नदिइएको बताए ।

संवृद्धिको पूर्वसर्त राजनीतिक स्थिरता र लोकतन्त्र हो भन्दै निधिले यस यात्रामा काँग्रेस चुकेको स्वीकार गरे । तर नयाँ संविधान निर्माण गर्ने कुरामा काँग्रेसले आफ्नो मुल सिद्धान्तलाई बिर्सिएको आरोपलाई भने उनले अस्वीकार गरे ।

संविधानमा रहेका नौ वटा मुल विषयमध्ये राष्ट्रियता, लोकतन्त्र, समाजवाद पूरानै भएको र गणतन्त्र, संघीयता, मिश्रित निर्वाचन प्रणाली, धर्म निरपेक्षता जस्ता कुराहरु पनि कम्युनिष्टको नभई काँग्रेसका एजेण्डा भएको बताए ।

निधिले संवैधानिक राजतन्त्र काँग्रेसको होइन ब्रिटिसहरुको एजेण्डा हो भन्दै काँग्रेसकै एजेण्डा अनुसार उत्कृष्ट संविधान बने पनि काँग्रेसकै जमातलाई यो कुरा बुझाउन नसकिएको बताए । सबैभन्दा पहिला पाँच विकास क्षेत्रमा पाँच वटा संसद बनाऔं भनेर पहिलो पटक संघीयताको अवरधारणा अघि सारे पनि त्यो विचारलाई स्वीकार नगरिएको उनले बताए । निधिले कम्युनिजम र फेडरालिजम विरोधी कुरा भएको बताए ।

काँग्रेसका अर्का नेता प्रकाशशरण महतले जथाभावी कर लगाएर अराजक स्थिति सिर्जना गर्ने काम सरकारले गरेको भन्दै धेरै कर लगाएर संवृद्धि नआउने बताए । उनले ब्याजदर चर्को, उत्पादन लागत चर्को भएको बेला कर बढाउँदा उद्यमशीलताको विकास नहुने भन्दै यसले स्वदेशी विदेशी लगानी आउन नसक्ने बताए ।

अहिलेको खुल्ला बजार अर्थतन्त्रमा राज्यले सबै मै चलाउँछु भनेर चल्दैन भन्दै महतले संवृद्धिको बाधक भएर ओली सरकार उभिएको आरोप लगाए । उनले छ प्रतिशतभन्दा बढिको आर्थिक वृद्धि काँग्रेसले अघि सारेको आर्थिक नीति कै कारण संभव भएको जिकिर गरे ।

नेता महतले राजा कम्युनिष्टहरुको खेलको शिकार काँग्रेस भएको तर्क प्रस्तुत गरे । उनले नेपालले ऋण लिएर रेलमार्ग निर्माण गर्न नसक्ने भन्दै अनुदानमा चीन र भारतले निर्माण गरिदिन्छ भने मात्रै बनाउँदा हुने बताए ।

काँग्रेस नेता सुरेन्द्र पाण्डेले आर्थिक विकासमा अहिलेको स्थिति आउनु २०४६ सालपछि काँग्रेसले लिएको नीति नै प्रमुख कारण भएको बताए । उनले काँग्रेसको उद्दार अर्थनीति असफल भएको भन्ने कुरा गलत हो भन्दै तर काँग्रेसले आफूभित्र भने एकढिक्का भएर काम गर्न नसक्नु कमजोरी हो भने ।

इन्जिनियर मुकेश काफ्लेले विकासका धेरै नीति र कार्यक्रम अघि बढाए पनि जस भने कम्युनिष्टहरुले लिने गरेको उद्दाहरण दिँदै राजनीतिक एजेण्डा सकिएको अबको अवस्थामा काँग्रेसका कार्यकर्ताहरुलाई आर्थिक संवृद्धिबारे प्रशिक्षण दिनुपर्ने बताए ।

उनले मानव विकास सुचकाङ्कमा सुधार हुन नसकेको, पञ्चबर्षीय योजनाहरु पनि प्रभावकारी हुन नसकेको भन्दै सरकार आर्थिक संवृद्धिको ठोस योजना अघि बढाउन नभई सपना देखाउन मात्रै लागिरहेको बताए । काफ्लेले बिमस्टेक सम्मेलनमा नेपालको तस्विर देखाइएको तर बास्तविक तस्विर नदेखाइएको बताए ।

Advertisement

Advertisement

Advertisement