स्तरवृद्धि भए पनि कार्यान्वयनमा आएन महेशपुर छोटी भन्सार

Advertisement

नवलपरासी । मन्त्रीपरिषदस्तरीय निर्णयबाट पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयलाई मूल भन्सारको रुपमा स्तरवृद्धि गरिएपनि कार्यान्वयनमा आउन सकेको छैन् ।

दरबन्दी स्वीकृतलगायतका अधिकांश काम नहुँदा मूल भन्सार स्तर वृद्धि कार्यान्वयनमा आउन नसकेको हो । गत साउन १ गतेबाट लागू हुने गरी सरकारले मन्त्रीपरिषदस्तरीय निर्णयबाट महेशपुर छोटी भन्सार कार्यालयलाई मूल भन्सार बनाउने निर्णय गरेको थियो ।

माथिल्लो तहबाट कर्मचारी अन्य प्राविधिक काम बाँकी रहेकाले तत्कालका लागि छोटी भन्सारको रुपमा काम गर्दैआएको महेशपुर छोटी भन्सार कार्यालयका नायबसुब्वा रामबहादुर विकले जानकारी दिए । सो निर्णय पूर्ण रुपमा कार्यान्वयन नहुँदा र सोही अनुसार कर्मचारी नआउँदा पुरानै रुपमा काम हुँदै आएको भैरहवा मूल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भुपालराज शाक्यले जानकारी दिए ।

महेशपुर छोटी भन्सार कार्यालयमा हाल तीन कार्यालय सहयोगी, एक खरिदार र दुई सुब्बा गरी कूल छ जना कर्मचारी छन् । ती कर्मचारीहरु सधैँ महेशपुर छोटी भन्सार कार्यालयमा स्थायी रुपमा नबस्ने कर्मचारी हुन् । भैरहवा मूल भन्सार कार्यालयले प्रत्येक एक÷एक महिनाका लागि मात्र कर्मचारी पठाउने गर्दछ । कोलकाता बन्दरगाहाबाट सबैभन्दा छोटी दुरी भएको दाबी गरिएको महेशपुर भन्सार कार्यालयको स्तरोन्नती भएकोले अब त्यसलाई कार्यान्वयनमा ल्याउन सकिएमा यस क्षेत्रको आर्थिक वृद्धिमा योगदान पुग्ने नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का संयोजक गुणनिधि तिवारीले बताए ।

पश्चिम नवलपरासी र पूर्वी नवलपरासीमा कूल दुई दर्जन ठूला उद्योग÷कल कारखाना छन् । अधिकांश उद्योग÷कल कारखानाको कच्चा पदार्थ आयातका लागि भारतीय बजारको भर पर्नुपर्ने हुन्छ । पश्चिम नवलपरासीमा रहेका महेशपुर, गेर्मी, भुवहवा, र गुठीप्रसौनी छोटी भन्सारमध्ये महेशपुर भन्सार मात्र सञ्चालनमा छ ।

Advertisement

Advertisement

Advertisement